पाँचथर, सोमबार, १७ कात्तिक २०७७ । सदरमुकाम फिदिममा २० शय्याको आइसोलेसन रहे पनि पाँच जनालाई मात्रै आइसोलेसनमा राखिएको छ ।
पाँचथरमा कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या १४ पुग्दा अधिकांश ‘होम आइसोलेसन’ मा छन् ।
कोरोना सङ्क्रमित होम आइसोलेसनमा रहँदा खाने, बस्ने, सरसफाइ गर्नेसहित दैनिक क्रियाकलाप एक्लै भएमात्रै सङ्क्रमण अन्य व्यक्तिमा सर्ने सम्भावना कम रहने चिकित्सकको सुझाव छ तर यहाँका अधिकांश घर परम्परागत तथा कच्ची छन् । पक्की घरमा समेत एक तलामा एक वा दुईदेखि तीन तलामा एक शौचालय तथा स्नानघर छन् । यस्ता घरमा सङ्क्रमितसहित अन्य व्यक्तिसमेत रहनुपर्ने बाध्यताका कारण सङ्क्रमण व्यापक हुनसक्ने आशङ्का स्थानीयवासीको छ ।
सङ्क्रमितको सङ्ख्या ह्वात्तै बढ्न सक्ने र यस्तो बेला आइसोलेसन शय्याको अभाव हुने तथा लक्षण नदेखिएका सङ्क्रमितलाई होम आइसोलेसनमै राखिए पनि फरक नपर्ने अन्य जिल्लाको उदाहरणलाई यहाँ पनि प्रयोग गरिएको छ तर सक्रिय सङ्क्रमित रहेका होम आइसोलेसनमा चिकित्सकीय सुझावअनुसारका संरचना छैनन् । होम आइसोलेसनका लागि आवश्यक पर्ने न्यूनतम संरचनाको अभावले सङ्क्रमण फैलन खतरा बढ्दै गएको छ ।
शहरको रूपमा विकास हुँदै गरेको फिदिमसहित जिल्लाका अन्य बजार शौचालय तथा स्नानघर घर बाहिरसमेत छन् । यस्ता स्थानमा बाध्यतावश सङ्क्रमितको अन्य व्यक्तिसँग सम्पर्क हुने सम्भावना रहने स्थानीयवासीको भनाइ छ । सङ्क्रमित तथा कन्ट्याक्ट टे«सिङमा परेकाबाट पर्याप्त सतर्कता अपनाउने गरेको पाइन्न ।
स्वास्थ्य कार्यालयका प्रमुख नारद सुवेदी होम आइसोलेसनका लागि उपयुक्त संरचना नभए पनि समुदाय स्वयं सचेत हुनसके सङ्क्रमणको व्यापक फैलावट रोक्न सकिने बताउँछन् । “छुट्टै संरचना नभए सङ्क्रमितले प्रयोग गरेका सामग्री र स्थानलाई सेनिटाइज गरेर अरुले प्रयोग गर्न सकिन्छ”, सुवेदीले भने, “यसका लागि सधैँ सजगता, सतर्कता र तत्परता आवश्यक छ ।” समुदायलाई सचेत तुल्याउने कुरा कुनै एक निकायको जिम्मेवारी मात्रै नरहेको सुवेदीले टिप्पणी छ । “पर्याप्त सचेतना र सजगताका लागि समुदायबाटै ठोस पहल र पालना हुनु आवश्यक छ”, सुवेदीले भने।









































