काठमाडौं, बिहिबार, १५ असोज २०७७ । विमानस्थल निर्माणका लागि संघीय सरकार र प्रदेश सरकारबीच पहिलो पटका समझदारी पत्रमा हस्ताक्षर भएको छ । आज बिहिबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सुर्खेत विमानस्थलको विकास, विस्तार र स्तरोन्नतिका लागि नेपाल सरकार र प्रदेश सरकारबीच समझदारी पत्रमा हस्ताक्षर भएको हो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई, कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र सोही प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाको उपस्थितिमा प्रदेश सचिव धनश्याम उपाध्याय र नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पौडलबीच हस्ताक्षर भएको हो ।

सोही अवसरमा बोल्दै पर्यटनमन्त्री योगेश भट्टराईले आयोजना केन्द्रित यो पहिलो समझदारी भएको बताउनुभयो । संघीयता कार्यान्वयनको सन्दर्भमा कोशेढुंगा भएको दाबी गदै मन्त्री भट्टराईले ‘यो हाम्रो पहिलो समझदारी हो, अब अरु प्रदेशसँग पनि समझदारी हुन्छ । प्रदेश १, सुदूरपश्चिम प्रदेशसँग पनि हुँदैछ’ उहाँले भन्नुभयो । विमानस्थल संघीय सरकारको क्षेत्राधिकारभित्र परेपनि यसको हकदार प्रदेश र स्थानीय सरकार पनि भएकाले समझदारीबाट राम्रो प्रतिफल आउने उहाँको विश्वास रहेको छ ।
विमानस्थल मात्र होइन सरकारी स्वामित्वको नेपाल एयरलाइन्ससँग पनि प्रदेश सरकारले लगानी तथा सञ्चालनमा साझेदारी गर्नसक्ने मन्त्री भट्टराईले बताउनुभयो । ‘निजी एयरलाइन्सले नाफा हुने ठाउँमा मात्र उडान गर्न खोज्छन् । हवाई सेवा पुग्नैपर्ने ठाउँमा सेवा दिनका लागि नेपाल एयरलाइन्स बलियो हुन आवश्यक छ, उहाँले भन्नुभयो । यसमा प्रदेश सरकारले पनि लगानी गर्न सक्ने उहाँको भनाई छ ।
साथै, मुख्य मन्त्री शाहीले यो समझदारी कर्णाली प्रदेशको लागि ऐतिहासिक भएको बताउँदै मानवसुचाङका पछि परेको कर्णालाी प्रदेशलाई कृषि र पर्यटन मार्फत माथि उठाउने दाबी गर्नुभयो ।









































