गोरखा, सोमबार, २२ भाद्र २०७७ । गोरखाको भीमसेन थापा गाउँपालिका वडा नं ७ बोर्लाङमा भाद्र मसान्तसम्म सिल गरिने भएको छ ।
आइतबार स्थानीय ४१ बर्षिय एक पुरुषमा कोरोना पोजेटिभ पुष्टि भएसंगै भदौ महिनाको मसान्तसम्म सिल गरिने भएको हो । आज बसेको वडाको बैठकले अमला भञ्ज्याङदेखि ठाँटी माँझ गाउँ हुदै पौवाली छापसम्म भदौं ३१ गतेसम्म सिल गर्ने निर्णय गरेको वडा अध्यक्ष नारायण श्रेष्ठले जानकारी दिनुभयो ।
गाउँपालिकासंग समन्वय गरी संक्रमितको नजिक सम्पर्कमा रहेका व्यक्तिहरुको पहिचान गरि पिसिआर परीक्षण गर्न पहल गर्ने निर्णय समेत बैठकले गरेको उहाँले बताउनुभयो । वडाले संक्रमित क्षेत्रबाट आएका व्यक्तिहरुको निगरानी गर्ने, सामाजिक दुरी कायम गरेर मात्रै गतिविधि गर्ने, जाँड रक्सि जुवा तास, क्यारेमबोड तथा फुटबल भलिबल जस्ता गतिविधिहरुलाई कडाइका साथ बन्द गरिने वडा अध्यक्ष श्रेष्ठले बताउनुभयो ।









































