- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

खलङ्गामा सशस्त्र प्रहरीको गण स्थापना हुँदै

July 24, 2020
955
Shares
- ADVERTISEMENT -

काठमाडौँ, शुक्रबार, ९ साउन २०७७ । भारत र चीनसँग सीमा जोडिएको व्यास गाउँपालिका–१ छाङ्गरुको कौवा र तिङ्करमा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बिओपी) तथा सदरमुकाम खलङ्गामा सशस्त्र प्रहरीको गण स्थापना हुने भएको छ ।

नेपाल सरकार मन्त्रिपरिषद्को गत असार २९ गतेको बैठकले दार्चुला सदरमुकाम खलङ्गामा गण र सीमा क्षेत्रमा थप चार वटा बिओपी स्थापना गर्ने निर्णय गरेको थियो ।

- ADVERTISEMENT -

Advertisement

सदरमुकाम खलङ्गामा रहेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ५० गुल्म हेडक्वार्टर व्यासको छाङ्गरु गागामा स्थापना हुनेछ । सदरमुकाम खलङ्गामा सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गण हेडक्वार्टर स्थापना हुने भएको हो । सरकारले यही वैशाख ३१ गते छाङ्गरुको गागामा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट स्थापना गरेको छ । गागामा सशस्त्र प्रहरीको गुल्म रहने छ ।

गुल्मको भवन निर्माणका लागि सरकारले ठेक्का लगाइसकेको छ । कालापानी नजिकैको कौवा क्षेत्रमा सशस्त्र प्रहरीले बिओपी राख्ने जनाएको छ । यसअघि पनि यहाँका स्थानीयवासीले कौवा क्षेत्रमा नेपालको सशस्त्र प्रहरी राख्नुपर्ने माग गर्दै आएका थिए । कौवाबाट कालापानी नजिकै पर्छ । यो क्षेत्रसम्म राज्यको उपस्थिति गराउन सकियो भने सरकारले हालै जारी गरेको कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रको आफ्नो भूमि देख्न सकिन्छ । अहिले पनि भारतले नेपालकै भूमि कालापानी नजिक नेपाली सुरक्षाकर्मीलाई जान दिएको छैन ।

- ADVERTISEMENT -

Advertisement

छाङ्गरुको गागामा रहेको सशस्त्र प्रहरी र नेपाल प्रहरी कौवासम्म कहिलेकाहीँ गस्ती निस्कने गरेका छन् । भारतीय सुरक्षाकर्मी पहिल्यै अतिक्रमण गरेको कालापानी भन्दा झण्डै एक किलोमिटर तल आएर बसेको छ । सुदूरपश्चिम प्रदेशको दार्चुला र कैलाली जिल्लामा सशस्त्र प्रहरी बलको नयाँ गण स्थापनाका लागि विभागबाट स्वीकृति प्राप्त भएको सशस्त्र प्रहरी गुल्म दार्चुलाका गुल्मपति डम्बर विष्टले जानकारी दिनुभयो ।

साथै, सरकारले व्यासको कौवा र तिङ्करसँगै महाकाली नगरपालिका–९ को दत्तु र व्यास गाउँपालिका–४ को सुन्सेरामा सशस्त्र प्रहरी बलको बिओपी स्थापना हुने भएको छ । सीमा सुरक्षाको जिम्मेवारी पाएको सशस्त्र प्रहरीले यसअघि भारतसँग सीमा जोडिएको दार्चुलाको लेकम गाउँपालिका–३ लाली, मालिकार्जुन गाउँपालिका–७ को जौलजीवी, व्यास गाउँपालिका–२ को दुम्लिङ र वडा नं १ को छाङ्गरु गागामा बिओपी स्थापना गरिसकेको छ ।

दार्चुलामा भारतसँग कूल १२५ किलोमिटर सीमा जोडिएको छ, भने चीनसँग २० किलोमिटर सीमा जोडिएको छ । यसअघि चीनसँगको सीमामा दार्चुलाको नेपाल प्रहरीको मात्रै उपस्थिति छ । प्रहरीले व्यास गाउँपालिका–१ तिङ्करको छायालेकमा सीमा प्रहरीचौकी राखेको छ ।

जिल्लामा गण स्थापना भएसँगै सशस्त्र प्रहरी उपरीक्षक नरेन्द्रबहादुर बमको नेतृत्वमा पाँच सशस्त्र प्रहरी नायब उपरीक्षक, १४ सशस्त्र प्रहरी निरीक्षक र सशस्त्र प्रहरी कर्मचारी गरी ६२१ जनाको दरबन्दी रहने छ । सशस्त्रको गुल्ममा भने १५० जना बस्दै आएका छन् ।

मन्त्रीको टोली छाङ्गरु प्रस्थान

सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाशबहादुर शाह नेतृत्वको टोली व्यासको छाङ्गरु प्रस्थान गरेको छ । छाङ्गरुमा सशस्त्र प्रहरीको गुल्म र थप बोर्डर आउट पोष्ट स्थापना हुने भएपछि निरीक्षण भ्रमणका लागि कानूनमन्त्री शाह नेतृत्वको टोली छाङ्गरु प्रस्थान गरेको हो ।

टोलीले सशस्त्र प्रहरी बस्ने ठाउँ, नेपाल प्रहरीको बस्ने भवन र त्यस क्षेत्रमा भइरहेको बाटोघाटो निर्माणको विषय निरीक्षण गर्ने सुरक्षा अधिकारीले जनाएका छन् । टोलीमा सुरक्षा अधिकारी पनि सहभागी छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -