सर्लाही, सोमबार, १५ असार २०७७ । जिल्लाको धनकौल गाउँपालिकामा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र नेपाली काँग्रेस (नेका) कार्यकर्ता बीच झडप भएको छ । झडपमा गोली चल्दा १८ जना घाइते भएको प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले बताए ।
आइतबार राति भएको झडपमा नेकपाका १५ र नेकाका तीन कार्यकर्ता घाइते भएको सर्लाहीका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मदन कुँवरले जानकारी दिए । झडपमा दुईजना प्रहरीसमेत घाइते भएको उनले बताए । झडप नियन्त्रणमा लिन प्रहरीले चार राउन्ड आश्रुग्यास प्रहार गरेको थियो । घटनास्थल अहिले शान्त रहेको र त्यहाँ व्यापक मात्रामा प्रहरी परिचालन गरिएको छ ।
जिल्लाको रामनगर गाउँपालिकामा नेकपा कार्यकर्ताको हत्या गरिएको विरोधमा धनकौल गाउँपालिकामा आइतबार साँझ ७ बजे निकालिएको मसाल जुलुसमा काँग्रेस कार्यकर्ताले गोली चलाएको नेकपाका स्थानीय नेता अजय सिंहले जानकारी दिए ।
आफ्ना कयौं नेता तथा कार्यकर्तालाई गोलीको छर्रा लागेको र लाठी प्रहारबाट घाइते भएको नेता सिंहले जानकारी दिए । घटनाका घाइतेमध्ये केहीको बरहथवामा उपचार भइरहेको छ भने गम्भीर घाइतेलाई वीरगन्जतर्फ पठाइएको उनले बताए ।
यता नेकपाका कार्यकर्ताले आफ्ना कार्यकर्तामाथि आक्रमण गरेको नेपाली काँग्रेसले आरोप लगाएको छ । नेकपाका कार्यकर्ताले निकालेको मसाल जुलुसले काँग्रेस कार्यकर्ता धिरु वर्माको घरअगाडि टायर बाल्नुका साथै कुटपिट गरेको नेपाली काँग्रेसका नेता एवं प्रदेशसभा सदस्य वीरेन्द्र सिंहले जानकारी दिए । नेकपा कार्यकर्ताको कुटाइबाट आफ्ना छ जना कार्यकर्ता घाइते भएको उनले बताए ।









































