नुवाकोट २१ बैशाख २०७७ । नेपाली कांग्रेस नुवाकोटले कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि नुवाकोटको १० वटै गाउँपालिकालाई ज्वरो नाप्ने डिजिटल थर्मोगन बितरण गरेको छ ।
नेपाली कांग्रेस केन्द्रिय सदस्य अर्जुन नरसिंह केसीले जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख सन्तमान तामाङ्घको रोहबरमा सबै गाउँपालिकालाई उक्त सामाग्री बितरण गर्नुभएको हो । साथै, समाज सेवामा क्रियाशील संस्था यशोदादेवी भगवानसिंह केसी मेमोरियल ट्रस्टले जिल्लाका १० वटै गाउँपालिकालाई मास्क र स्यानिटाइजर बितरण गरेको छ ।
प्रत्येक गाउँपालिकालाई १ हजारको दरले मास्क र ४० प्रति स्यानिटाइजर बितरण गरिएको नेपाली कांग्रेस नुवाकोटका सभापति एवम् ट्रस्टका महासचिब जगदिश्वरनरसिंह केसीले जानकारी दिनुभएको छ । नुवाकोटको बिदुर र बेलकोटगढी नगरपालिकालाई पनि केही समय पछि स्वास्थ्य सामाग्री बितरण गरिने उहाले बताउनुभएको छ ।

स्वास्थ्य सामाग्री बितरण कार्यक्रममा नेपाली कांग्रेस केन्द्रिय सदस्य अर्जुननरसिंह केसीले यो कोरोना भाइरस बिरुद्धको लडाइमा सबै पक्षको सक्रिय सहभागीता हुनुपर्ने बताउनुभएको छ । साथै, उहाले स्थानिय तहका प्रमुख एवम् प्रतिनिधिहरुलाई यो बिपदको समयमा सबै नागरिकलाई आवश्यक्ताको आधारमा समान रुपले राहत बितरण गर्न आग्रह गर्नुभएको छ ।
कार्यक्रममा यशोदादेवी भगवानसिंह केसी मेमोरियल ट्रस्टका अध्यक्ष डा केदारनरसिंह केसी, कोषाध्यक्ष महेश्वरनरसिंह केसी, जिल्लाको विभिन्न गाउँपालिकाका अध्यक्ष, उपाध्यक्षहरू लगायतको सहभागिता रहेको थियो । नेपाली कांग्रेस नुवाकोट र यशोदादेवी भगवानसिंह केसी मेमोरियल ट्रस्टले यस अघि पनि कृषकको लागि मास्क, स्वास्थ्यकर्मीलाई आवश्यक पर्ने पि।पि।ई, एम्बुलेन्स चालकलाई पीपीई लगायत स्वास्थ्य सामाग्री बितरण गरिसकेको छ ।









































