गोरखा, ५ बैशाख २०७७ । जानकी गाउँपालिकाका विभिन्न गाउँबाट काम गर्न गोरखा पुगेका ६२ जना मजदूरहरु हिडेरै घर फर्किन थालेका छन् ।
गोरखाको सिरानचोक गाउँपालिकामा काम गर्न गएका उनीहरु लकडाउन थपिन थालेपछि घर फर्किन चाहेका हुन् । यातायातका साधनहरु बन्द रहेकाले उनीहरुलाई हिडेरै फर्किने बाध्यता आइ परेको हो ।
गोरखाको सिरानचोक गाउँपालिकाका अध्यक्ष राजु गुरुङ र गोरखा नगरपालिकाका प्रमुख राजनराज पन्तले लकडाउनकाने बेला यति लामो यात्रा नगर्न र खाने बस्ने व्यवस्था गर्छु यतै बस्नुस भन्दा पनि नमानेपछि केही गर्न नसकिएको बताउनु भयो । उनीहरु विहिबार छेपेटारबाट हिडेका छन् । गोरखादेखि कैलालीसम्मको दूरी करिब ५५० किलोमिटर रहेकाे छ ।
फर्किन लागेका मजदूरहरु जानकी गाउँपािलकाको वडा न ७ उच्चा गोलौरी, खल्ला गोलौरी, शंकरपुर, मोतिनगर लगायतका गाउँका रहेका छन् । ‘स्थानीय सरकारलाई त हामी दोष दिदैनौ तर ठेकेदारले अब पाल्न सक्दिन भन्यो, घरबाट पनि सबै ठाउँबाट घर फर्किसके तिमीहरु पनि आउ भनेर घरबाट दवाव आउन थालेपछि घर फर्काउनु परेको हो,’ टोलीका अगुवा नेत्रराम चौधरीले भन्नुभयो, ‘मान्छे धेरै छौ पटकपटक लकडाउन थपिन थाल्यो, को मान्छे कस्तो हुन्छ थाह हुदैन, कति जनाको घरमा एक्लै श्रीमती मात्र छन् त्यसैले फर्किदै छौं ।’
खाद्यान्न राम्रो उत्पादन नहुने गोरखामा राम्रो खान पनि नपाइने उनीहरुको गुनासो छ । ‘घर पुगे त भकारीकै धान खाएर पनि बस्न सकिन्छ,’ चौधरीले भन्नुभयो, ‘गाउँपालिकालाई पत्र पठाएर आउन दिनु प¥यो भनेर अनुरोध गर्दा जानकी गाउँपालिकाले अनुमति दिएपछि आउन लागेका हौं ।’
पछिल्लो समय नेपालभित्रै संक्रमित देखिएका र एकअर्कामा सर्न थालेपछि कैलालीमा एकअर्को पालिकामा आउन जान पनि बन्द गरिएको छ । अर्को जिल्लाबाट आएकाहरुलाई पनि क्वारेन्टाइनमा राख्न थालिएको छ । टिकापुर एफ एम को साथमा









































