- ADVERTISEMENT -
- ADVERTISEMENT -

बागलुङ नगरले शुरु गर्‍यो ‘फुड बैंक’

April 12, 2020
816
Shares
- ADVERTISEMENT -
- ADVERTISEMENT -

गलकोट, ३० चैत २०७६ । विश्वभर फैलिएको कोरोना भाइरसको सङ्कटका कारण रोजीरोटी गुमाएका बिपन्न तथा मजदुरलाई सहयोग गर्न बागलुङ नगरपालिकाले ‘फुड बैंक’ स्थापना गरेकोे छ ।

नेपालमा चैत ११ गतेदेखि जारी लकडाउनका कारण दैनिक ज्यालादारीमा काम गर्दै आएका श्रमिक मजदुर, गरिब, विपन्नलाई सहयोग गर्न नगरपालिकाले बागलुङ जेसीजको सहयोगमा फुड बैंक स्थापना गरेको बागलुङ नगरपालिकाले जनाएको छ ।

जेसीजले पहिलो चरणमा रु।६० हजार बराबरको खाद्य सामग्री प्रदान गरेर फुड बैंकको स्थापना गरिएको बागलुङ जेसीजका अध्यक्ष सुरेन्द्र शाक्यले जानकारी दिए । शाक्यका अनुसार, पहिलो चरणमा ५०० केजी चामल, ७५ केजी दाल, ५० केजी नुन, ५० केजी तेल, २०० केजी आटा सहयोग गरिएको छ ।

जिल्ला सदरमुकाम र मुख्य बजार क्षेत्रमा बाहिरबाट आएका श्रमिक मजदुरले राहत नपाएको गुनासो आएपछि जेसीजको सहकार्यमा फुड बैंक स्थापना गरिएको बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले जानकारी दिए।

कसैलाई पनि भोकै बस्ने अवस्था नआओस् भन्ने अभिप्रायले फुड बैंक स्थापनाका लागि जेसीजले पहल र सहकार्य गरेको हो । कतै राहतको अभाव भएमा तत्कालै फुड बैंकमार्फत खाद्यन्न सहयोग गरिनेछ । नगरपालिकाको फुड बैंक स्थापनाकै दिन अधिकारकर्मी राम शर्माले रु।३० हजार बराबरको २० बोरा चामल र पत्रकार महासङ्घ बागलुङ शाखाका पूर्वअध्यक्ष तथा ढोरपाटन दैनिकका सम्पादक हरिनारायण गौतमले रु।२० बोरा चामल, दाल र नुन सहयोग गरेका छन् ।

फुड बैंकबाट खासगरी बाहिरबाट श्रम गर्नका लागि आएका श्रमिक मजदुर र तीनका परिवारलाई सहयोग गरिने बागलुङ नगरपालिकाका प्रमुख पौडेलले जानकारी दिए। “हामीले नगरपालिकाका सबै वडाका गरिब, विपन्न, मजदुरको पहिचान गरेर पहिलो चरणमा राहत बाँडिसकेका छौ”, प्रमुख पौडेलले भने, “फुड बैंकबाट थप समस्यामा परेका र बिशेषगरी बाहिरबाट आएर लकडाउनका कारण अलपत्र श्रमिक मजदुरलाई तत्काल सहयोग गर्नेछौँ ।”

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -