गोरखा, २६ चैत २०७६ । सरकारको निर्णयलाई पालना गरी असल नागरिकको परिचय दिदै कोरोना विरुद्धको अभियानमा साथ दिनुहुन अजिरकोट गाउँपालिकाका अध्यक्ष फणिन्द्र प्रसाद धितालले आग्रह गर्नु भएको छ ।
कोरोना संक्रमण विरुद्ध अजिरकोट गाउँपालिकाको अभियान “कोरोना सुरक्षाको पहिलो आधार, मास्क लगाई हात नमिलाई केवल नमस्कार” भन्ने मूल नारालाई आत्मसाथ गर्दै विश्वभर फैलिएको नोबेल कोरोना भाइरसको संक्रमण हाम्रो गाउँघरको टोल बस्तीमा फैलन नदिन अजिरकोट गाउँपालिकाले आज एक सुचना जारी गर्दै अति आवश्यक बाहेक यातायातका साधन बन्द गर्न र घर भित्रै बसी सरकारको निर्णयलाई पालना गर्न आग्रह गरेको छ ।
साथै, गाउँपालिकाको मुख्य प्रवेशद्वार दत्ते चौतारा हुँदै गाउँपालिका बाहिरबाट विभिन्न सवारी साधन तथा पैदल यात्री अनाधिकृत रूपमा प्रबेश गरी लकडाउनको उल्लंघन भएको हुँदा अजिरकोट गाउँपालिका भित्र एम्बुलेन्स, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, जिल्ला प्रशासन कार्यालयबाट अनुमती प्राप्त सवारी साधन बाहेक अन्य कुनै पनि सवारी साधन प्रवेश निषेध गरिएको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाले कोरोना भाइरसको सम्भावित जोखिम न्यूनिकरणका लागि विभिन्न ठाउमा क्लोरिन झोल छर्किएको छ । गाउँपालिकाले विदेशबाट आएकाहरुको तथ्यांक पनि संकलन गरेको छ । उनीहरुलाई घरघरमै क्वारेण्टाइनमा राखेर निगरानी गरिएको छ ।
साथै, जिल्ला प्रशासन कार्यालय गोरखाबाट अनुमति प्राप्त खाद्यान्न दुवानी गर्ने सवारी साधन गाउँपालिका भित्र बिहान ६ बजेदेखि साझ ६ बजे सम्म सञ्चालन गर्ने अनुमति प्रदान गरिएको प्रमुख प्रशासकीय अधिकृत अमर राज पंगेनीले जानकारी दिनुभयो ।
कोरोना संक्रमणबाट आफू पनि बचौं र समाजलाई पनि बचाऔं ! सरकारको निर्णयलाई पालना गरि असल नागरिकको परिचय दिदै कोरोना विरुद्धको अभियानमा साथ दिनुहुन गाउँबासी आदरणीय बुबा आमा दाजुभाई दिदीबहिनीहरुलाई अजिरकोट गाउँपालिकाले अनुरोध गरेको छ ।









































