पोखरा, २३ चैत २०७६ । दैनिक ज्याला मजदुरी गरेर जीविकोपार्जन गर्ने मजदुरहरुलाई लकडाउनका कारण खाद्यान्न अभाव भएपछि एनआईसी एसिया बैंकले राहत वितरण गरेको छ ।
कोरोना भाइरसको संक्रमणबाट बच्न सरकारले लकडाउन घोषणा गरिरहेका बेला देशभित्र विकास निर्माणका कामदेखि लिएर कलकारखानाहरु समेत बन्द रहेको अवस्थामा मजदुरहरुलाई बिहान बेलुकाको छाक टार्नसमेत समस्या भएपछि बैंकले सहयोग गरेको हो ।
सामाजिक उत्तरदायित्व अन्तर्गत गण्डकी प्रदेशको कावाश्वोती नगरपालिका र पोखरा महानगरपालिकामा ज्याला मजदुरी गर्ने १ सय ५० परिवारहरुलाई स्थानीय सरकारसँगको सहकार्यमा रू २ लाख ५० हजार रुपैयाँ बराबरको खााद्यान्न सहयोग गरिएको बैंकका प्रादेशिक प्रमुख दीपेन्द्र शर्माले जानकारी दिनुभयो । बैंकले चामल, तेल, नुन, दाल लगायतका खाद्यान्न सामग्रीहरु वितरण गरेको हो ।
बैंकका गण्डकी प्रदेशस्थित उपप्रादेशिक कार्यालय प्रमुख अशोक पन्तले कावाश्वोती नगरपालिकी प्रमुख चन्द्रा पुनलाई ५० हजार रुपैयाँ बराबर तथा बैंकको गण्डकी प्रदेश कार्यालय प्रमुख दीपेन्द्र शर्माले पोखरा महानगरपालिका प्रमुख मानबहादुर जिसीलाई २ लाख रुपैयाँ बराबरको खाद्यान्न सामग्री हस्तान्तरण गर्नु भएको थियो ।
स्थानीय सरकारहरुसँगको सहकार्यमा वितरण गरिको खाद्यान्न सामग्रीबाट लकडाउनले गर्दा दैनिक छाक टार्न समस्या भएका परिवारलाई केही भएपनि राहत मिल्ने विश्वास बैंकले लिएको छ ।
गण्डकी प्रदेशका अन्य जिल्लामा समेत करिब ५ लाख रुपैयाँ बराबरको खाद्यान्न सामग्री आगामी दिनमा वितरण गरिने शर्माले जानकारी दिनुभयो । बैंकले यसअघि काठमाडौं तथा प्रदेश १ मा ज्याला मजदुरी गर्नेहरुका लागि रू पाँच÷पाँच लाख रुपैयाँ तथा सुदुरपश्चिम प्रदेशमा रू ३ लाख ७५ हजार रुपैयाँ बराबरको खाद्यान्न सामग्री समेत वितरण गरिसकेको छ ।









































