काठमाडौँ, ३ माघ २०७६ । नेपाली सेनाको आयोजनामा, प्रधान सेनापति महारथी पूर्णचन्द्र थापाको प्रमुख आथित्यतामा उद्घाटन गरिएको “एकीकरण मार्ग अभियान बृहत सेमिनार र प्रदर्शनी २०७६” आज शुक्रबार पनि जारी रहेको छ ।
सेमिनारको दोस्रो दिन पालुङटार नगरपालिकाका मेयर दीपक बाबू कडेलबाट लिगलिग कोट दौड तथा लिगलिग कोटको बृहत बिकास योजना सम्बन्धी प्रस्तुतिकरण गर्नु भएको थियो ।
लिगलिगकोट क्षेत्र धार्मिक, सांस्कृतिक, ऐतिहासिक एवं पुरातात्विक दृष्टिकोणले निकै महत्वपुर्ण रहेको छ । समुद्रीसतहदेखि ४ हजार ७ सय ९० फिटको उचाईमा अवस्थित रहेको २ सय ४० वर्षसम्म एकछत्र रुपले शासन गरेको नेपालको शाह बंशको उदयबिन्दु मानिने लिगलिगकोट क्षेत्र पर्याप्त सम्भाबना बोकेको एक ऐतिहासिक पर्यटकीय स्थल पनि हो ।
लिगलिगकोट राजा छान्ने ठाउँको रुपमा पनि विख्यात छ । यहाँ हरेक बर्ष राजा छान्ने गरिन्छ । इतिहासलाई पल्टाएर हेर्ने हो भने यहाँ राजा छान्ने परम्परा बि स १६०४ को बिजया दशमीको दिनदेखि सुरु भएको पाइन्छ । त्यो मात्र नभएर पर्यटकीय गन्तव्यका लागि बर्षेनी दशैंको अवसर पारी लिगलिगे दौड आयोजना गरिदै आएको छ ।
लमजुङ र गोरखाको सिमानामा पर्ने चेपेघाटबाट सुरु भएको दौड ठाँटीपोखरी, छाप्थोक, बडडाँडा, साउनेपानी, बोहरा गाउँ, मैबल, दर्खेपानी, राई गाउँ, बिजुले डाँडा हुँदै लिगलिगकोट दरबारमा गएर सकिन्छ । दौडमा विजयी हासिल गर्नेलाई श्रीपेच लगाइदिने यहाँको पुरानो चलन हो, उहाले भन्नुभयो ।
लिगलिग मगर भाषाको ‘लिङलिङ’ शब्दबाट आएको भन्ने भनाई छ । मगर भाषामा लिङलिङको अर्थ सफा, सुन्दर, कञ्चन प्राकृतिक सौन्दर्य देखिनु भन्ने बुझिन्छ । पर्यटकिय क्षेत्र लिगलिगकोट पुग्ने जो कोही पर्यटकहरु पनि मन्त्रमुग्ध हुने गर्दछन् । त्यसो त यहाँबाट देखिने मनास्लु हिमश्रङखलको मनोरम दृष्य, लमजुङको पर्यटकिय क्षेत्र राइनसकोट, लाली गुराँसको जंगल, लिगलिगकोटको पुराना दरबार, कोट, किल्ला, गढी, पुराना भग्नावशेष अनि नागबेली आकारमा बगेको चेपे नदिको मनोरम दृश्यले सबैको मन खिचिरहेको हुन्छ, पालुङटार नगरपालिकाका मेयर दीपक बाबू कडेलले भन्नुभयो ।
‘लिगलिगकोट सिरानचोक कोट र गोरखा दरवार खुल्ला म्याराथन दौड’ प्रतियोगिता यहि २०७६ भाद्र २५ गते सम्पन्न भएको स्मरण गर्नु हुदै मेयर दीपक बाबू कडेलले लिगलिगकोट राजा छान्ने ठाउँको रुपमा पनि विख्यात रहेको बताउनु भयो ।
साथै, उहाले अब चाडै नै TAAN को सहयोगमा लिगलिग कोटबाट बारपाक सम्म दौडको आयोजना गरिन लागेको बताउनु भयो |
सोही अवसरमा उहाले “एकीकरण मार्ग अभियान बृहत सेमिनार र प्रदर्शनी २०७६” को अवलोकन समेत गर्नु भयो ।
नेपाल भ्रमण वर्ष २०२० सफल बनाउन आग्रह गर्नु हुदै जीबनमा एक पटक अवस्य लिगलिग कोट भ्रमण गर्नु हुन आग्रह समेत गर्नु भयो ।