गोरखा, २१ मङ्सिर २०७६ । पालुङटार नगरपालिकाले नगरबासीलाई स्वरोजगार बनाउन बिना ब्याज कर्जा वितरण सुरु गरेको छ । पालुङटार नगरपालिकाले नगरबासीलाई स्वरोजगार बनाई कृषि उपजमा आत्मनिर्भर बनाउनका लागि बिना ब्याज कर्जा वितरण गर्न सुरु गरेको हो ।

शुक्रबार एक औपचारिक समारोहको आयोजना गरी नगरपालिकाका मेयर दीपकबाबु कँडेलले स्वरोजगार बन्न चाहनेलाई व्यवसाय सञ्चालन गर्न ब्याज सहुलियतको कर्जा दिन सुरु गरेको जानकारी दिनुभयो । युवाहरुलाई आत्मनिर्भर बनाई विदेश पलायन हुनबाट रोक्ने उद्देश्यले पाँचौँ नगरसभाले स्थानीय उद्यम तथा व्यवसाय प्रवद्र्धन कार्यक्रम स्वीकृत गरी कार्यविधि समेत बनाएकोबताउनु भएको छ ।

सोही कार्यक्रमका लागि नगरपालिकाले गतबर्ष एक करोड र यसबर्ष दुई करोड गरी तीन करोड रुपैयाँको स्वस्वरोजगार कोष स्थापना गरेको कँडेलले जानकारी दिनुभयो ।

युवाहरुलाई कृषि, पशुपालन, उद्योग तथा ब्यापार सञ्चालन गर्नका लागि स्वरोजगार कार्यक्रमअन्तर्गत बिना व्याज ऋण दिन सुरु गरेको बताउनु भएको छ ।

ब्यबसाय सञ्चालन गर्न चाहने युवालाई सो कोषबाट कम्तिमा एकलाख रुपैयाँदेखि १० लाख रुपैयाँसम्म ऋण दिन सुरु गरिएको उपमेयर पम्फा बसेलले जानकारी दिइन् ।

सहुलियतपूर्ण कर्जाका लागि व्यवसाय गर्न चाहनेले विधिवत दर्ता गरेर व्यापार, व्यवसाय सुरु गरी वडा कार्यालयको सिफारिस पेश गर्नुपर्ने ब्यबस्था छ । साथै सो रकम तीनबर्षभित्र चुक्ता गरिसक्नु पर्ने उपमेयर बसेलले बताइन् । सो रकम अनुदान नभएकाले निर्धारित समयमा अनिबार्य चुक्ता गर्नुपर्ने उपमेयर बसेलले बताइन् । नतिरेमा नगरपालिकाले दिने सेवा सुविधा सम्पूर्ण बन्द गरिने उनले बताइन् ।

स्थायी ठेगाना पालुङ्टार नगरपालिका बाहिर भै पालुङ्टारमा व्यापार, ब्यबसाय सञ्चालन गरेकोलाई समेत सहुलियतपूर्ण कर्जा प्रदान गर्ने कार्यविधिमा उल्लेख रहेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बलराम ढकालले जानकारी दिनुभयो ।

नगरपालिकाले यो बर्ष ४० जनालाई स्वरोजगार कोषको कर्जा वितरण गर्ने लक्ष्य राखेको छ । शुक्रबार एकै दिनमा नौ जनालाई कर्जा प्रबाह गरिएको नगरपालिको जनाएको छ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्