गोरखा, १२ मङ्सिर २०७६ । चालु आर्थिक वर्षमा गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले पनि ३ हजार स्टिलका पोल दिने भएको छ ।
काठेपोल प्रतिस्थापन कार्यक्रम अन्तर्गत मन्त्रालयबाट ५ करोड ५० लाख रुपैयाँ विनियोजन भएको जलस्रोत तथा सिञ्चाइ विकास डिभिजन कार्यालयले जनाएको छ । धार्चे र चुमनुव्री गाउँपालिकाबाहेकका अन्य स्थानीय तहलाई उक्त पोलहरु वितरण गरिने कार्यालयका लेखापाल नवराज खनालले बताए ।
गोरखा नगरपालिकालाई ४ सय र पालुङटार नगरपालिकालाई ४ सय ५० पोल वितरण हुने छ । आरुघाट गाउँपालिकालाई ४ सय, भिमसेन थापा गाउँपालिकालाइ ४ सय ५० र शहीद लखन गाउँपालिकालाइ ३ सय ५० पोल वितरण गरिने उनले बताए । बारपाक सुलिकोट र सिरानचोक गाउँपालिकालाइ ३ सयको दरले कोटा निर्धारण भएको छ । गण्डकी गाउँपालिकालाइ २ सय र अजिरकोट गाउँपालिकालाई १ सय ५० पोल वितरण गरिने उनको भनाइ छ । टेण्डर प्रक्रियामा जाने तयारी भइरहेको उनले बताए ।
बिभिन्न स्थानीय तहबाट कुल ११ हजार ४८१ पोल माग भएको कार्यालयले जनाएको छ । गत आर्थिक बर्ष पनि मन्त्रालयले बिभिन्न स्थानीय तहमा ३ हजार ५५० पोल वितरण गरेको थियो । करिव पाँच करोड मूल्य बराबरको उक्त पोल मागको आधारमा सबै स्थानीय तहमा वितरण गरिएको कार्यालयका लेखापाल खनालले बताए ।
मन्त्रालयबाट प्राप्त पोलहरु कार्यालयले नै सम्बन्धित स्थानीय तहमा ढुवानी गर्नेछ । तर पोल ठड्याउने, तार सार्नेलगायतका काममा नेपाल बिद्युत प्राधिकरणसँग समन्वय गर्न भनिए पनि समन्वय नभएको प्राधिकरण गोरखा वितरण केन्द्रले जनाएको छ ।









































