गोरखा, १० मङ्सिर २०७६ । निर्वाचन क्षेत्र नं १ का संघीय साँसद हरीराज अधिकारीले आफ्नो निर्वाचन क्षेत्रमा पर्ने सातवटा गाउँपालिका भित्र अति आवश्यक क्षेत्रमा विभिन्न ३४ शिर्षक योजनामा बजेट विनियोजन गरेका छन् ।
सांसद अधिकारीको अध्यक्षतामा बसेको बैठकले निर्वाचन क्षेत्रमा सामुदायिक भवन देखि हेलिप्याड निर्माण सम्मका लागि बजेट विनियोजन गरेका छन् ।
सरकारको बजेट र योजनालाई मैले बनाएको, मैले दिएको, अझै दिन्छु भन्ने मानिसहरुको संख्या बढीरहेको बेला सांसद अधिकारीले निर्वाचन क्षेत्रमा गएका समयमा जनताले गरेका मागहरु मध्येबाट सम्बन्धित पालिकाले समेत आवश्यक सूचीमा राखेको र कार्यान्वयन क्षमतालाई समेत ध्यान दिएर योजना छनौट गरिएको बैठकमा सहभागी एक सदस्यले बताए ।
कुल ६ करोड बजेटको योजनाहरुमा शहिद लखन गाउँपालिकामा ६ वटा योजनाका लागि १ करोड, गण्डकी गाउँपालिकामा ५ वटा योजनाका लागि ९४ लाख ६० हजार, भीमसेन थापा गाउँपालिकामा ५ वटा योजनाका लागि ९० लाख, आरुघाट गाउँपालिकामा ४ वटा योजनाका लागि ८० लाख,धार्चे गाउँपालिकामा ६ वटा योजनाका लागि १ करोड ५ लाख, गोरखा नगरपालिकामा ४ वटा योजनाका लागि ८० लाख र चुमनुब्री गाउँपालिकामा ४ वटा योजनाका लागि ४५ लाख बजेट विनियोजन भएको छ ।
योजनामा सामुदायिक भवन तर्फ १३, युवा क्लव भवन तथा खेल मैदान तर्फ ४, खानेपानी आयोजनाका लागि १, विद्यालयमा शौचालय, घेरवार, रिटेनीङ वाल निर्माणका ५, सडक निर्माणका ८ , पर्यटन सूचना केन्द्र १, सहिद स्मृति भवन तथा पार्क मर्मत १ र प्रोकमा हेलिप्याड निर्माण १ गरी कुल ३४ वटा योजनाहरु छनौट भई स्वीकृत भएका हुन् ।
अघिल्लो वर्ष सांसदकोषबाट केही रकम दिँदा उपभोक्ता समितिले अझै धेरै लगानी गरेर राम्रा काम गरेका उदाहरणहरु पनि छन । योजनाहरु अत्यावश्यक ठाउँमा प्रदान गरिएको छ ।
परेका योजनाहरुको समयमै कार्यन्वयन गरी जिल्लाको विकासमा दिगोपना ल्याउनुपर्ने जिल्ला समन्वय समितिका प्रवक्ता मानप्रसाद धितालले बताए ।
साँसद कोषका बजेट विनियोजन पछि सबैले आ–आफ्ना धारणाहरु विभिन्न माध्यम मार्फत राखिसकेका छन् ।









































