बाग्लुङ, २४ कात्तिक २०७६ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले आफ्ना बागी उम्मेदवारको उम्मेदवारी फिर्ता गराउन हेलिकोप्टरको प्रयोग गरेपनि अन्ततः सफल भएन ।
बाग्लुङ २ (ख) को उपनिर्वाचनमा बागी उम्मेदवारी दिएका शेरमान घर्तीको उम्मेदवारी फिर्ता गराउन हेलिकोप्टर चढाएर बाग्लुङ ल्याइपुर्याए पनि समय अभावका कारण उम्मेदवारी फिर्ता नभएको हो ।
उम्मेदवारी फिर्ता लिने समय दिनको १ बजेसम्म थियो । शेरमान भने १ बजेर २० मिनेट निर्वाचन कार्यालय पु्गेका थिए । बाग्लुङ निर्वाचन क्षेत्र नं। – २ (ख)को उपनिर्वाचनमा शेरमानले उम्मेदवारी दिएका थिए । प्रदेशसभाको सो क्षेत्रमा नेकपाको समर्थनमा राष्ट्रिय जनमोर्चाले खिमविक्रम शाहीलाई प्रदेशसभा सदस्य उम्मेदवार बनाएको छ ।
उनी विरुद्धमा २०७४ सालको स्थानीय निर्वाचनमा नेकपा तात्कालीन (माओवादी केन्द्र) बाट ढोरपाटन नगरपालिकाको मेयरमा पराजित शेरमान घर्ती मगरले बागी उम्मेदवारी दिएका थिए ।
घर्ती मगरलाई लिन गएको हेलिकोप्टर मेयर देवकुमार नेपालीको दरबार होटलको छतमा ल्याण्ड भएको थियो । शोही हेलीकोप्टरमा चढेर घर्तीमगर उम्मेदवारी फिर्ताका लागि सदरमुकाम आएका थिए ।
चुनावी गठबन्धन गरेका नेकपा र जनमोर्चाबीच अहिले निकै खैलाबैला मच्चिएको छ । उपनिर्वाचनमा जनमोर्चालाई बाग्लुङमा छाड्ने केन्द्रीय तहमा सहमतिपछि नेकपाका स्थानीय कार्यकर्ता भने आक्रोसित बनेका थिए ।









































