घण्टे (सिन्धुली), १२ असार २०७६  । नेपालको गर्विलो इतिहास बोकेका हरिहरपुर गढी र सिन्धुलीगढी अब पदयात्रीका लागि जोडिने भएका छन् ।

दुई गढीलाई पदमार्गले जोड्दै पर्यटक तान्ने योजना बनेपछि ऐतिहासिक सम्पदाको संरक्षणसँगै पर्यटकीय गतिविधि बढ्ने भएपछि स्थानीयमा उत्साह छाएको छ ।

हुन पनि दुई गढीको इतिहास गहन छ । नेपाल–अङ्ग्रेज युद्धको जीवित किल्ला हो– सिन्धुलीगढी । कप्तान किनलक नेतृत्वको अङ्ग्रेज सेनालाई सिन्धुलीगढीमा सन् १८२४ मा हार नचखाएको भए नेपालको भूगोल के हुने थियो ? अड्कल मात्र गर्न सकिन्छ यतिबेला ।

‘एकीकरण पदमार्ग’ नाम दिइएको यस ‘भर्जिन रुट’ मा पर्यटन वर्ष २०२० मा पदयात्री लैजाने लक्ष्यसाथ नागरिक अभियन्ता, स्थानीय, प्रदेश र सङ्घीय सरकारले चासो बढाएका छन् । पहिलो चरणमा धरान–चतरा–सिन्धुली–हेटौँडा सडक (हाल मदन भण्डारी राजमार्ग नामकरण) छेउको गाउँ घण्टेबाट हरिहरपुरगढी हुँदै १५ किलोमिटर पदमार्ग निर्माण र शुभारम्भ गरिएपछि खुसी छाएको हरिहरपुरगढी गाउँपालिकाका अध्यक्ष कारसाङ लामा बताउनुहुन्छ । सिन्धुली जिल्लाको हरिहरपुरगढी गाउँपालिका–३ स्थित घण्टेबाट हरिहरपुरगढी हुँदै सिन्धुलीगढीसम्मको जम्मा ७५ किलोमिटर पदमार्ग सात दिनमा पूरा गर्न सकिने पदमार्गको अध्ययन र प्रवद्र्धन गरिरहेको समृद्ध सिन्धुली अभियानले जनाएको छ ।

सिन्धुलीगढी जयस्थिति मल्लले बनाएको इतिहासकारको मत रहेको छ । सामरिक महत्वका रूपमा रहँदै आएको सिन्धुलीगढीले नेपाली रणकौशलको इतिहासमा विशेष महìव राखेको छ ।

त्यस्तै, सिन्धुलीमा अर्को महत्वपूर्ण किल्ला छ– हरिहरपुरगढी । नेपाल एकीकरणका क्रममा पृथ्वीनारायण शाहका गोरखाली सेना र मकवानपुरका राजा दिगबन्धन सेनका सेनाबीच निर्णायक युद्ध बसेरीस्थित हरिहरपुरगढीमा भएको थियो । सिन्धुलीगढीमा गोरखाली सेनाले दपेटेपछि भागेका ब्रिटिस सेना बागमतीको किनार पछ्याउँदै पनौती ताक्ने योजनामा थिए । उनीहरूको यात्रालाई हरिहरपुरगढी किल्लामा तैनाथ गोरखालीले असफल बनाइदिएको इतिहासकारहरूले उल्लेख गरेका छन् ।

ऐतिहासिक दुई गढीलाई पदमार्गले जोड्ने अवधारणा राख्नुहुने सांसद हरिबोल गजुरेल भन्नुहुन्छ, “इतिहासको सम्मान र पर्यटन विकासका लागि नयाँ अभियान थाल्नुपर्छ । ” उहाँ थप्नुहुुन्छ, “हरिहरपुरगढी र सिन्धुलीगढीलाई पदमार्गले जोडेर पहाडी डाँडैडाँडा पर्यटनको ढोका खोल्न खोलिएको छ । ”

ऐतिहासिक, पुरातात्विक, सांस्कृतिक तथा प्राकृतिक सम्पदासँग जनताको आर्थिक र सामाजिक जीवनलाई जोड्दै पर्यटन विकासको योजना बनाउनुपर्ने जानकारहरूको छ ।

यस्तै, सोही क्षेत्रका प्रदेशसभा सदस्य बुद्धिमान माझीका अनुसार हरिहरपुरगढी वरपर रहेका उर्वर भूमिको उपयोग, ऐतिहासिक स्थलहरू, दनुवार राई जातिको भाषा, संस्कृति संरक्षणसँगै पर्यटन व्यवसायको विकास गरी जनताको जीवनस्थर उकास्न सकिन्छ । यसप्रति अबका नीति र कार्यक्रम लक्षित हुनेछन् ।

प्रदेशसभा सदस्य विनोदकुमार खड्काको मतमा ऐतिहासिक गढीलाई जोडेर पदमार्ग निर्माण गर्दा यसबीचमा रहेका ग्रामीण बस्ती, त्यहाँका भाषा, संस्कृति, प्राकृतिक सम्पदाले समेत संरक्षणको अवसर पाउने भएको छ । यस्तै, हरिहरपुरगढी गाउँपालिकाका अध्यक्ष लामा पर्यटन विकासको गुरुयोजना तयार पारेर गाउँपालिकाले पर्यटन भित्राउने योजनाले स्थानीयमा ऊर्जा छाएको बताउनुुहुन्छ । गोराखापत्र

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्