गोरखा, ३१ जेठ २०७६ । विद्युत् लाइन विस्तारका लागि गोरखामा प्रयोग भएका पाँच हजार काठे पोल चालू आर्थिक वर्ष ०७५/७६ मा विस्थापन गरिएको छ ।

विद्युत् प्रणाली सुदृढीकरण कार्यक्रमअन्तर्गत काठेपोल हटाएर फलामे पोल राखिएको हो । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र गोरखाका अनुसार सिरानचोक, भीमसेन थापा, सहिद लखन गाउँपालिका, पालुङटार र गोरखा नगरपालिका क्षेत्रमा काठे पोल हटाउने काम जारी छ । केन्द्रका कार्यालय प्रमुख माधव न्यौपानेका अनुसार जिल्लामा अझै करिब सात हजार काठे पोल प्रयोगमा छन् । कार्यालय प्रमुख न्यौपानेले भने, ‘आर्थिक वर्ष ०७६/७७ भित्र सबै काठे पोल विस्थापित गरिसक्छौँ ।’

जिल्लाका सबै काठे पोल विस्थापन गर्न करिब २५ करोड लाग्ने उनले बताए । काठे पोलमा दुर्घटनाको जोखिम बढी हुने भन्दै फलामे पोल राख्न थालेको उनको भनाइ छ । ‘काठे पोलमा धमिरा लाग्ने, भाँचिने, तार तन्काउन नमिल्ने र दुर्घटनाको जोखिम बढी पनि हुन्छ, तर फलामे पोलमा त्यो समस्या हुँदैन,’ उनले भने ।

अति विपन्न र धार्मिक स्थलमा निःशुल्क मिटर

प्राधिकरणले अति विपन्न व्यक्ति, धार्मिक र सांस्कृतिक महत्वका स्थलमा निःशुल्क विद्युत् मिटर वितरण गर्दै आएको छ । गत वैशाखबाट मिटर वितरण थालेको कार्यालय प्रमुख न्यौपानेले बताउनु भयो  । ‘अति विपन्न वर्ग भनेर वडाबाट प्रमाणित गरेर सिफारिस ल्याउनुपर्छ । हामी मिटर निःशुल्क दिन्छौँ, धार्मिक स्थलका लागि पनि वडाको सिफारिस चाहिन्छ,’ उहाले भन्नुभयो । यही असार महिनासम्म मात्र निःशुल्क मिटर वितरण हुने प्राधिकरण गोरखा प्रमुख न्यौपानेले जानकारी दिनुभयो ।

केन्द्रीय प्रसारण लाइन विस्तार हुँदै

प्राधिकरणले गोरखाका विभिन्न ठाउँमा केन्द्रीय प्रसारण लाइन विस्तार गरिरहेको छ । बारपाक र सौरपानी–स्वाँरासम्म लाइन विस्तारको तयारी भइरहेको प्राधिकरणले जनाएको छ । ‘रकम निकासा भइसकेको छ, ठेक्का पनि भइसक्यो, आगामी आर्थिक वर्षबाट काम सुरु हुन्छ,’ न्यौपानेले भन्नु भयो ।

बारपाकसम्म लाइन विस्तारका लागि चार करोड र स्वाँराका लागि दुई करोड बजेट निकासा भएको उहाले जानकारी दिनुभयो । उत्तरी गोरखामा केन्द्रीय लाइन विस्तारका लागि दश करोड माग गरेर पठाइएको उनको भनाइ छ । ‘विद्युत् प्राधिकरण क्षेत्रीय कार्यालय र प्रदेशको भौतिक योजना मन्त्रालयबीच सम्झौता भइसक्यो, पैसा आएलगत्तै काम सुरु हुन्छ,’ उनले भने । गोरखामा प्राधिकरणका ४० हजार ग्राहक छन् । बारपाक, स्वाँरा र सौरपानीमा लाइन विस्तार भएसँगै २५ हजार ग्राहक थपिनेछ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्