गोर्खा, ३० जेठ २०७६ । जिल्लाका अधिकाशं स्थानीय तहले गुरुयोजना निर्माणलाई जोड दिएका छन् । स्थानीय निर्वाचन भएको २ वर्ष, बिना योजना काम गर्दा विकास, निर्माणको काम संस्थागत हुन नसकेको भन्दै गुरुयोजना निर्माणलाई प्राथमिकता दिइएको उनीहरुले बताएका छन् । ‘गुरुयोजना योजना बिना काम गर्दा व्यवस्थित गर्न गाह्रो हुँदो रहेछ, त्यसैले मास्टर प्लान बनाउन लागेका हौं’ सिरानचोक गाउँपालिकाका प्रमुख राजु गुरुङले भने ‘अहिले तथ्याङ्क संकलनको काम अन्तिम चरणमा पुगेको छ । यो असार मसान्तसम्म गुरुयोजनाको खाका सार्वजानिक गर्ने हाम्रो प्लान छ ।’ परामर्शदाता कम्पनी मार्फत निर्माण भइरहेको गुरुयोजनाका बारेमा विभिन्न चरणमा वडा तथा गाउँपालिकाको बैठकमा समेत छलफल भइसकेको उनले जानकारी दिए ।

स्मार्ट सिटीको रुपमा बिकास गर्ने लक्ष्यका साथ काम गरिरहेको पालुङ्टार नगरपालिकाले गुरुयोजना निर्माणको काम टुंग्याइसकेको छ । वडा देखि नगरपालिका कार्यालय जोड्ने सडक निर्माण, जमिनको वर्गिकरण गरी आवासिय, खेतियोग्य, वन क्षेत्र, सार्वजानिक क्षेत्र लगायत सम्पूर्ण कुरा समेटिएको गुरुयोजना निर्माण गरिएको छ । ‘समग्र, न्यायोचित र योजनावद्ध बिकास गर्न गुरुयोजना नभई नहुने रहेछ’ पालुङ्टार नगरपालिकाका प्रमुख ई.दिपकबाबु कंडेलले भने ‘हामीले जहाँ पुग्ने लक्ष्य लिएका छौं, गुरुयोजना नै त्यसको प्रमुख हतियार हो ।’ धार्चे गाउँपालिकाले निर्माण गर्न लागेको गुरुयोजनाको बारेमा तिन दिन छलफल भएको छ ।

यता गोरखा नगरपालिकाले पनि गुरुयोजना निर्माणको कामलाई अन्तिम चरणमा पु¥याएको छ । ‘योजनागत डिपिरआर काम भइरहेको छ’ गोरखा नगरपालिकका प्रमुख राजनराज पन्तले भने, डिपिआर सकिने बित्तिकै सरोकारवालाहरुसँग फेरी छलफल गरी यसलाई अन्तिम रुप दिन्छौं ।’ अल्पकालिन, मध्यकालिन र दिर्घकालिन योजना योजनाहरुलाई लिपिवद्ध गर्ने गरी विभिन्न चरणमा छलफल गरिएको गोरखा नगरपालिकाले जानकारी दिएको छ ।

गाउँपालिकाको केन्द्र माछा खोलामा एक कार्यक्रम गरी गुरुयोजनामा समेटिने बिषयको बारेमा छलफल गरेको गाउँपालिकाले अध्यक्ष सन्तोष गुरुङले जानकारी दिए । स्थानीय जनप्रतिनिधि, कर्मचारी र सो क्षेत्रका विज्ञहरुको सहभागी रहेको उक्त बुधबार सकिएको हो । गत साता मात्रै बारपाक सुलिकोट र चुमनुब्री गाउँपालिकाले गुरुयोजनाबारे छलफल गरेका छन् । बारपाक सुलिकोट गाउँपालिकाले काठमाण्डौमा बस्ने विज्ञहरुको सुझाव समेत लिइसेको छ ।

‘हामी यो आर्थिक वर्ष भित्र गुरुयोजनालाई अन्तिम रुप दिने तयारीमा जुटिरहेका छौं’ गाउँपालिका अध्यक्ष विष्णु भट्टले भने ‘गाउँ र जिल्ला स्तरमा धेरै चरणमा छलफल भइसकेको छ, काठमाण्डौमा रहनुभएका विज्ञहरुसँग पनि सुझाव लिने काम सम्पन्न गरेका छौं ।’ उक्त गाउँपालिकाले आ–आफ्ना सुझाव दिन नागरिकहरुलाई समेत आब्हान समेत गरेको छ । २ नगरपालिका र ९ गाउँपालिका गरी ११ वटा स्थानीय तह रहेको गोरखाका अधिकाशं स्थानीय तहले यसै आर्थिक वर्ष भित्र गुरुयोजनाको कामलाई पूर्णता दिने तयारी गरेका छन् भने, कतिपयको आगामी वर्ष बनाउने योजना छ ।

‘हामीले पनि यो वर्ष बनाउने भनेका थियौं तर सकिएन’ भीमसेन थापा गाउँपालिकाका अध्यक्ष ईश्वर पाण्डेले भने ‘साउनबाट यसको काम सुरु गर्ने हाम्रो लक्ष्य छ । आरुघाट गाउँपालिकामा भने सडक र पर्यटन क्षेत्रको डिपिआर निर्माण भइरहेको छ । त्यसपछि गुरुयोजना निर्माणको कामले गति लिने गाउँपालिका अध्यक्ष पुर्णबहादुर दाहालले जानकारी दिए। शहिदलखन, गण्डकी र अजिरकोट गाउँपालिकामा गुरुयोजना निर्माण भइरहेका ती गाउँपालिकाहरुले जानकारी दिएका छन् । गोरखा समाचार

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्