लमजुङ्ग, १८ जेठ २०७६ । गण्डकी प्रदेश अन्तर्गत पर्ने लमजुङ जिल्लाको सदरमुकाम समेटिएको बेसीशहर नगरपालिका जिल्लाको मध्यभागमा अवस्थित छ । लमजुङ जिल्लाका आठ वटा स्थानीय तहमध्ये अर्को जिल्लासंग सिमाना नजोडिएको एकमात्र स्थानीय तह बेसीशहर नगरपालिका हो ।
समुद्र सतहबाट ८०० मिटर उचाईमा पर्ने यस जिल्लाको सदरमुकाम बेसीसहर पृथ्वी राजमार्गमा पर्ने तनहुँ जिल्लाको डुम्रे बजारदेखि ४२ किलोमिटर उत्तरमा पर्दछ ।
लमजुङ जिल्ला शाहवंशीय राजाको उद्गमस्थल मानिन्छ । प्रथम शाहवंशीय राजा यशोब्रह्मा शाह र त्यसपछिका शाहवंशीय राजाहरुले राज्य गरेको गाउँशहरको लमजुङ दरबार यसै बेसीशहर नगरपालिकामा पर्दछ । सदरमुकाम बेसीशहर तथा यस वरिपरिका क्षेत्रहरु सांस्कृतिक, धार्मिक, ऐतिहासिक तथा व्यापारिक हिसावले महत्वपूर्ण रहेका छन् ।
मनाङ तथा अन्नपुर्ण पदयात्राको प्रवेशद्वारको रुपमा चिनिने यस नगरपालिकाको केन्द्र बेसीशहर समुद्री सतहदेखि ९५० मिटरको उचाईमा अवस्थित रहेको छ । वि सं २०२८ सालमा जिल्ला सदरमुकाम कुन्छाबाट बेसीशहर सरेपछि जिल्ला सदरमुकामको रुपमा चिनिंदै र विकसित हुँदै आएको छ ।