बेलिना थापा

लमजुङ, जेठ १२ गते । लमजुङको राइनास नगरपालिका ९ मोहोरियाकोटमा सरदर वीर भक्ति थापा स्मृति पार्क निर्माण सुरु गरिएको छ । राइनास नगरपालिका र गण्डकी प्रदेश सरकारको सहकार्यमा पार्क निर्माण थालिएको हो ।

अहिले पार्कको वाल उठाउने काम भइरहेको छ । नगरपालिका प्रमुख सिंहबहादुर थापाका अनुसार उक्त पार्क निर्माणमा गण्डकी प्रदेशको ७० र नगरपालिकाको ३० प्रतिशत लगानीमा रहने छ । पार्कसंगै उक्त ठाउँमा १५ फिटको भक्ति थापाको शालिक निर्माण गरिने उहाँले बताउनुभयो । चालु आर्थिक वर्षमा गण्डकी प्रदेशको ३० लाख र नगरपालिकाको २० लाख रुपियाँमा काम अघि बढाइएको हो ।

पूरै आयोजना निर्माणका लागि ४ करोड रुपियाँ लगानी हुने उहाँले बताउनुभयो । उहाँका अनुसार बीचमा शालिक रहनेछ । वरिपरी पार्क हुनेछ । संग्राहलय समेत बनाइने उहाँले बताउनुभयो ।

वडाध्यक्ष देवबहादुर थापाका अनुसार उक्त शालिक र पार्क गरी करिव १० रोपनीमा फैलने छ । पहिलो चरणको काम असार भित्रै सकिने उहाँले बताउनुभयो । अन्य बजेट थप गर्दै निर्माण गरिने छ । नेपाल एकीकरण अभियानमा महत्वपूर्ण भूमिका निर्वाह गरेको सरदार भक्ति थापाको सम्मान स्वरुप आकर्षक रुपमा पार्क निर्मण गर्न लागिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो–‘आकर्षण ढंगले पार्क बनाउन लागेका छौं । यो नमूनाको रुपमा रहने छ ।
पर्यटकीय गन्तव्य बनाउने लक्ष्य हो ।’ अहिले माटो खनेर सम्याउने र मेशीनरी वाल उठाउने काम भइरहेको उहाँले बताउनुभयो । साँढे ४ मिटरको वाल उठाएर सकिएपछि माटोले फिलिङ गरी रमणीय पार्क बनाइने उहाँले बताउनुभयो ।

राइनासको मोहोरियाकोटलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न पार्क निर्माण थालिएको नगर प्रमुख थापाले बताउनुभयो । उहाँले भन्नुभयो–‘यो क्षेत्र पर्यटकीय क्षेत्र हो । यस क्षेत्रमा धेरै पर्यटक भित्र्याउने र पर्यटकीय गन्तव्य बनाउने सोचका साथ पार्क निर्माण थालेका हौं ।’ उहाँका अनुसार राइनासकोट क्षेत्र ऐतिहासिक तथा पुरातात्विक महत्वको क्षेत्र हो । यो चौविसे राज्यका पालमा लमजुङ राज्यको महत्वपूर्ण कोटको रुपमा रहेको थियो । द्रव्य शाहले यही कोटबाट लिगलिग हुँदै गोरखामा अधिपत्य जमाएका थिए ।

सरदर भक्ति थापा मस्र्याङदी ३ खुदी माथि ढंगै गाउँमा जन्मनुभएको थियो । उहाँ पहिले लम्जुङका राजा केहरीनारायण शाहका सेनाका सरदार भएकाले लमजुंका तर्फबाट धेरै पटक युद्ध लड्नुभयो ।

गोरखा (नेपाल) संगको अन्तिम् युद्धमा पराजित भै युद्धबंदी का रुपमा काठ्माडौं पुगेको करिब एक वर्ष पछि उहाँ नेपाली फौजका सरदार भै नेपाल एकिकरण अभियानमा संलग्न हुनुभएको थियो ।

७३ वर्षको उमेरमा नेपाल (अंग्रेज युद्धमा देउथलको लडाइको नेतृत्व गर्नुभएको थियो । उक्त युद्धमा अंग्रेज हमलामा परि वि.स. १९७२ साल वैशाख ६ गते उहाँको मृत्यु भएको थियो । उहाँको सहासको कदर कर्दै अंग्रेजले उहाँको शवलाई पूर्ण सैनिक सम्मानका साथ फर्काएको थियो । अंग्रेजहरूले उहाँको सम्मानमा एक स्मारक पनि बनाए जुन हाल भारतको उत्तराखण्ड राज्यमा अवस्थित छ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्