गोरखा, ११ जेठ २०७६ । पालुङ्टार नगरपालिका-७ च्याङ्ली स्वास्थ्य चौकीमा पूर्ण खोप दिगोपनाको लागी स्वास्थ्य सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष एवं पालुङ्टार नगरपालिकावडा नं-७ का वडाध्यक्ष बसन्त कुमार श्रेष्ठको अध्यक्षतामा गोरखाको पालुङ्टार नगरपालिका- ७ स्थित च्याङ्ली स्वास्थ्य चौकीमा पूर्ण खोप दिगोपनाको लागी स्वास्थ्य समिति, वडा खोप समन्वय समिति, साझेदार निकायसंग समन्वयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको थियो ।
उक्त कार्यक्रममा नगर स्वास्थ्य अधिकृत प्रदीप कुमार यादवले खोप सेवालाई प्रभावकारी बनाउनुपर्ने बताउनुभयो । कार्यक्रमको औचित्यको बारेमा प्रष्ट्याउँदै च्याङ्ली स्वास्थ्य चौकीका प्रमुख भरतराज पाण्डेले वडा नं।-७ भित्रका जन्मेदेखि १५ महिनासम्मका ११२ जना बालबालिकाहरुले खोपको सवै मात्रा पाएकाले यस वडा पूर्णखोपयुक्त वडा भएको समेत जानकारी गराउनुभयो ।
उक्त अन्तरक्रिया कार्यक्रममा स्वास्थ्य चौकी व्यवस्थापन समितिका पदाधिकारीहरु, शिक्षक, बुद्धिजिवी लगायत सरोकारवालाहरुको उपस्थिति रहेको थियो । साथै अन्तरक्रियाबाट वडाका वोटगाउँ, माझिगाउँ, बगर क्षेत्रलाई लक्षित गरी एक खोप केन्द्र थप गर्ने निर्णय समेत गरिएको छ । खोप केन्द्र थप गर्दा आवश्यक सामग्रीहरु वडा कार्यालय, नगरपालिका तथा नगर स्वास्थ्य कार्यालयबाट माग गर्ने समेत निर्णय गरिएको छ ।
वडाका च्याङ्ली स्वास्थ्य चौकीमा ४ गते र खत्रीटार शहरी स्वास्थ्य केन्द्र र नागरिक सचेतना केन्द्र अवण्डामा ५ गते गरी दुई दिन ३ वटा खोप केन्द्रहरु सञ्चालन भइरहेका छन् ।
१५ महिना मुनिका बालबालिकाहरुका लागी विभिन्न प्रकारका ११ वटा खोप लगाउनुपर्दछ ।