- ADVERTISEMENT -
- ADVERTISEMENT -

प्रदेश सभाको चौथो अधिवेशन आजबाट

May 13, 2019
1157
Shares
- ADVERTISEMENT -
- ADVERTISEMENT -

हेटौँडा, वैशाख ३० गते । प्रदेश ३ को प्रदेशसभाको चौथो अधिवेशन आज सोमबार १ बजे बस्दै छ । यही वैशाख १० गते तेश्रो अधिवेशन स्थगित गरिएपछि आजबाट बैठक बस्ने गरी आहवान गरिएको हो ।

वैशाख ५ गते प्रदेश सभाका सभामुख सानुकुमार श्रेष्ठले अर्को सूचना नभएसम्मका लागि भन्दै स्थगित गरेको प्रदेश सभाको वैठक प्रदेश सरकार मन्त्रिपरिषद् बैठकले वैशाख ९ गते अन्त्य गर्न प्रदेश प्रमुखलाई सिफारिश गर्ने निर्णय गरेको थियो ।
प्रदेश सभाको आजको बैठकमा प्रदेश प्रमुखले प्रदेश सभा आहवान गर्नु भएको पत्र पढेर सुनाउने र प्रदेश सभामा प्रतिनिधित्व गर्ने दलका नेताहरुले बोल्ने कार्यक्रम तय गरिएको प्रदेश सभा सचिवालयले जनाएको छ ।

साथै प्रदेश स्तरमा जलचर संरक्षण र व्यवस्थापन गर्ने सम्बन्धमा बनेको विधेयक पेस गर्ने सहित दुईवटा विधेयकको प्रतिवेदन प्रदेश सभा बैठक पेस गर्ने कार्य सूची आइतबार बसेको कार्य व्यवस्था परामर्श समितिको बैठकले तय गरेको छ ।

बैठकमा आगामी जेठ ३, ४ र ५ गते बाहेक १० गते सम्मको सम्भावित सभामुख सानुकुमार श्रेष्ठले पेस गर्नु भएकोमा प्रदेश राजधानीको विषय कार्य सूचीमा ल्याउन ढिलाई गरेको भन्दै विपक्षी दलहरुले असन्तुष्टि जनाएपछि सोमबार सम्मको मात्र कार्य सूची तय भएको छ ।

सभामुख श्रेष्ठले आगामी जेठ १० गतेको बैठकमा प्रदेशको राजधानी तोक्ने सम्बन्धमा बनेको कार्यविधि पेस गर्ने गरी सूची तयार गरी प्रस्ताव गर्नु भएको थियो । विपक्षी दलको आपत्तिपछि बैठकको कार्य सूचीको बारेमा छलफल गर्न आज कार्य व्यवस्था परामर्श समितिको बैठक पुनः बस्ने भएको छ ।
बजेट अधिवेशनका रुपमा लिइएको यस अधिवेशनमा सत्ता पक्ष र विपक्षी दुबैले प्रदेशको स्थायी राजधानीको मुद्दालाई पनि उठाउने भएका छन् ।

मुख्यमन्त्री डोरमणि पौडेलले तेश्रो अधिवेशनको अन्त्य राजधानीको मुद्दा टुङ्गो लगाउने प्रतिबद्धता सार्वजनिक गरेपनि एकाएक अधिवेशन अन्त्य गरिएको थियो ।

प्रदेश सभाका सदस्यहरुले स्थायी राजधानीको विषय टुङ्गो नलाग्दा अस्थायी मानसिकताका कारण काम हुन नसकेको भन्दै राजधानी छिटो टुङ्गो लगाउन माग गर्दै आउनु भएको छ ।
प्रदेश सभाका सदस्यहरुको दवावपछि गत अधिवशेनमा राजधानीसम्बन्धी प्रतिवेदन प्रदेश सभामा पेस गर्न कार्यविधि बनाउन प्रदेश सभा सचिवालयलाई दिने सहमति कार्य व्यवस्था परामर्श समितिमा भएको थियो ।

समितिको आइतबार भएको बैठकमा प्रदेश राजधानी तोक्ने विषयले प्रवेश पाउनुपर्ने भन्दै कार्य सूचीमा राख्न भनिएको बैठकमा सहभागी प्रदेश सभाका सदस्य छिरिङ्ग दोर्जे लामाले जानकारी दिनुभयो ।

यसैबीच प्रदेश सभा सुरु भएयता प्रदेश सभामा प्रदेश सरकारले पेस गरेका ३७ विधेयकमा २८ विधेयक पारित भएको छ ।
पारित भएका विधेयकमध्ये २६ वटा प्रदेश प्रमुखबाट प्रमाणीकरण भएको प्रदेश सभाका सचिव रामशरण घिमिरेले जानकारी दिनुभयो ।

उहाँका अनुसार प्रदेश सभाको पहिलो अधिवेशन १९ दिन, दोश्रो अधिवेशन ६१ दिन र तेश्रो अधिवेशन नौ दिन बसेको थियो ।
प्रदेश सभाबाट ९९ वटा ऐन निर्माण गर्नुपर्ने पहिचान गरिएको छ ।

प्रदेश सभाको पहिलो अधिवेशन २०७४ माघ १८ गतेबाट सुरु भएको थियो ।

प्रदेश सभामा प्रमुख विपक्षी दल नेपाली काँग्रेस संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले प्रदेश सरकारले प्रदेश सभामालाई काम दिन नसकेको र प्रदेश सभाले अपेक्षाकृत काम गर्न नसकेको बताउनुभयो ।

मुख्यन्यायाधिवक्ताको काम, कर्तव्य र अधिकार तथा सेवाका सर्त सम्बन्धी विषयमा व्यवस्था गर्न बनेको विधेयक २०७४, मुख्यमन्त्री तथा मन्त्रीको पारिश्रमिक तथा सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७४, प्रदेश सभाका पदाधिकारी तथा सदस्यहरुको पारिश्रमिक र सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७४ लगायतका विधेयक पारित भइ ऐन बनेको छ ।

यस्तै दुईवटा ऐन संशोधनसहित प्रदेश सभाबाट पारित भएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -