- ADVERTISEMENT -
- ADVERTISEMENT -

बारपाकमा अझै कायम छ कटुवाल प्रथा

May 2, 2019
1263
Shares
- ADVERTISEMENT -
- ADVERTISEMENT -

गोरखा (बारपाक), वैशाख १९ गते । यही वैशाख १२ गते बिहानको ११ बज्नै लागेको थियो । भूकम्पको केन्द्रबिन्दु बारपाकमा ठूलो आवाजमा एक व्यक्ति कराएको सुनियो ।

बुझ्दा थाहा भयो स्थानीय बुदबहादुर गुरुङ भूकम्प स्मृति दिवसको कार्यक्रममा सहभागी हुन गाउँलेहरुलाई सूचना भन्दै हुनुहुँदो रहेछ । ‘सुन गाउँले दाजुभाइ तथा दिदी बहिनी, आज बारपाकमा हुन गइरहेको भूकम्प कार्यक्रममा सभामुख कृष्णबहादुर महरा आउनु भएको छ । उक्त कार्यक्रममा सबै जना उपस्थित हुनुहोला ।’ स्थानीय भाषामा उहाँले भन्नुभएकोे सूचनाको आशय यस्तो रहेछ ।

२०३३ सालदेखि बारपाकमा कुटवालको भूमिका निर्वाह गर्दै आउनुभएका गुरुङ अहिले ६४ वर्ष हुनुभयो । पञ्चायत कालदेखि संघीय लोकतान्त्रिक गणतन्त्रसम्म आइपुग्दा राज्य व्यवस्था ठूलो परिवर्तन भए पनि उहाँको पेशा भने फेरिएको छैन । ‘मैले नभनेसम्म गाउँलेले अरुको कुरा पत्याउँदैनन्’ गुरुङले भन्नुभयो ‘वडा कार्यालयले समेत मलाई नै सूचना भन्न लगाउँछ ।’

करिब १५ सय घरधुरी रहेको बारपाकमा हुने सभा समारोह, जडीबुटी खोल्ने, दाउरा काट्ने, महिला तथा आमा समूहको सूचना गाउँलेलाई सुनाउने, मानिस मर्दापर्दा लगायतका काममा कटुवाल लगाउने चलन छ ।
‘वडा कार्यालयको योजना र कार्यक्रम पनि मै सुनाउँछु’ उहाँले भन्नुभयो ‘पञ्चायतदेखि नै सरकारी सूचना मैले भन्थे, पछि गाबिस र अहिले वडाको पनि मलाई नै लगाउनु हुन्छ ।’
बारपाक सुलिकोट गाउँपालिका वडा नम्बर १ र २ का सबै सूचना उहाँले सुनाउने गर्नुहुन्छ । वडा कार्यालयले प्रवाह गर्ने सेवा सुबिधाका सूचनाहरु, गाउँपालिकाले गरेका निर्णय, योजना सम्झौतादेखि भुक्तानी लिनेसम्मका सबै सूचना कटुवाल लगाएर टोलटोलमा सुनाउने गरिएको छ ।
बारपाकमा आधुनिक सञ्चारका सबै सुबिधा छन् । त्यहाँ स्थानीय एफ्एम रेडियो समेत सञ्चालनमा छ । तर पनि कटुवाल लगाउने प्रचलन हराएको छैन ।

‘अहिले सबैको हातमा मोबाइल छ, घरमा रेडियो टिभी पनि छन्’ उहाँले भन्नुभयो ‘तर खबर मैले नै सुनाउनु पर्छ ।’ गाउँमा नयाँ सूचना आउने बित्तिकै उहाँ सुनाउन दौडिहाल्नुहुन्छ । हाते माइक बोकेर गुरुङ मनिडाँडा उक्लिएपछि गाउँमा केही नयाँ कुरा भयो भन्ने सबैलाई लाग्छ । ‘बाजे डाँडातिर गएको देखेपछि हामी त काम छोडेर घर बाहिर निस्कन्छांै’ स्थानीय साममाया घलेले भन्नुभयो, ‘कहिले देखिँदैन बोलेपछि मात्र थाहा हुन्छ ।’

कटुवाल लगाए बापत उहाँलाई गाउँलेले हरेक सात महिनामा एक मानाका दरले अन्न दिन्छन् । करिब १५ सय घर धुरी रहेको त्यहाँ कतिपयले भने एक सय रुपियाँ दिने गरेका छन् । ‘हरेक सात महिनामा सबैले एक–एक माना मकै, कोदो, गहुँ, जौँ दिन्छन्’ गुरुङले भन्नुभयो ‘खेतिपाती नगर्ने, गोरखा बजार र काठमाडौंमा घर हुनेहरुले पैसा पठाउँछन् ।’
बुदबहादुरले कटुवाल लगाएपछि उहाँकी सहयोगी कान्छी गुरुङले उक्त अन्न र पैसा संकलन गर्नुहुन्छ । संकलन भएको अन्नपात र रकमले दुबैको परिवार चल्ने गरेको छ । अन्यत्र परम्परागत कटुवाल पेसा हराउँदै गएपनि बारपाकमा भने अहिलेसम्म जीवित छ । बृद्ध अबस्थामा ढल्कँदै गरेका उहाँलाई परम्परागत पेशाको चिन्ता लाग्न थालेको छ । गोरखापत्र

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -