- ADVERTISEMENT -
- ADVERTISEMENT -

नयाँ वर्षको सुरुमा नै पर्यटकीय स्थल खचाखच

April 14, 2019
957
Shares
- ADVERTISEMENT -
- ADVERTISEMENT -

काठमाडौँ, वैशाख १ गते । दश वर्ष युरोपेली देश फिनल्याण्ड बसाइपछि एक साताअघि मात्रै नेपाल आउनुभएका काठमाडौँ, वसन्तपुरका दिपेश शाक्य नयाँ वर्ष नेपालमा मनाउन पाउँदा दङ्ग पर्नुभएको छ ।

उहाँ भन्नुहुन्छ, ‘नेपाल त आइयो तर नयाँ वर्ष मनाउने अवसर भने अहिले मात्र प्राप्त भयो । दशवर्षसम्म अर्काको भूमिमा बसेर मनाइयो, यसपालि जन्मभूमिमा बसेर आफ्नै नयाँ वर्ष मनाउन पाउँदा छुट्टै रमाइलो होला ।’
अरू बेला युरोपको वातावरणमा रूमल्लिँंदा दिन बितेको थाहै हुँदैन तर हरेक वैशाख १ गते नेपाल र घरपरिवारको झल्को आउने गरेको उहाँ बताउनुहुन्छ ।

विदेशको संस्कृति ‘फलो’ गर्ने क्रममा नेपालको नयाँ वर्ष पनि पश्चिमी संस्कृतिझैँ मनाइरहेका छन् युवापुस्ता । ‘न्यु इयर इभ’ भन्दै डान्स पार्टी आयोजना गर्ने, नयाँ नयाँ ठाउँ घुम्ने गरेर नयाँ वर्ष मनाइरहेका छन् ।

डिजे रुपेश (श्रेष्ठ) भन्नुहुन्छ, ‘‘यतिबेला सिङ्गो नेपाल नै नयाँ वर्षमय भएको छ । यसैको अवसरमा राजधानीलगायत देशका विभिन्न स्थानमा मनोरञ्जनात्मक कार्यक्रमका साथै नयाँ वर्षको माहौल झल्काउने महोत्सव भइरहेका छन् ।’’
‘अकेजन फर युथ’भन्दै रुपेश वर्षभर काममै व्यस्त हुने हुँदा नयाँ वर्षमै जमघट र नाचगान अब्बल समय भएको बताउनुहुन्छ ।
त्यस्तै, काठमाडौँ मोडल कलेज अध्ययनरत ब्रिजेस श्रेष्ठ नयाँ वर्ष भनेकै साथीहरू जमेर रमाइलो गर्ने पर्व भएको बताउनुुहुन्छ ।
नयाँ वर्षको पूर्वसन्ध्यासँगै नगरकोट, धुलिखेल, गोदावरी, ककनी, फुल्चोकी, पोखरा, सौराहा आदि स्थानमा उल्लासमय वातावरण र युवापुस्ताको भीडभाड प्रशस्तै देख्न सकिन्छ । यस्तो बेला नाम चलेका मन्दिरमा पनि भक्तजनको तुलनात्मक रूपमा बढी नै चहलपहल देखिन्छ ।

विक्रम संवत्को आरम्भ
विक्रम संवत् कसरी सुरु भयो भन्ने धेरै कथन छन् । नेपालको सरकारी कामकाज विक्रम संवत अनुसार नै गरिन्छ । यस संवतको प्रचलनबारे विद्वानहरूबीच मतभेद पाइन्छ । केही विद्वान्को भनाइ अनुसार यो संवत् भारतका एक प्रतापी राजा विक्रमादित्यले ईस्वी संवत शुरू हुनुभन्दा ५७ वर्षअघि स्थापना गरेका थिए ।

अर्को भनाइ अनुसार अंशुवर्माको शासनकालमा विक्रमजीत नामका एक राजाले नेपालको साँखुमा आई राज्य सञ्चालन गरेका र बज्रयोगिनीको उपासना गरी राज्यका जनतालाई अनिकालबाट जोगाएको कथन छ । त्यही बेलादेखि उनले विक्रमादित्य संवत् पनि चलाएको बताइन्छ । अर्को भनाइ अनुसार इसापूर्व ५७ वर्ष अगाडि भारतमा कुनै पनि विक्रमादित्य नामको राजा नभएकाले विक्रम संवत नेपालीको आफ्नै मौलिक संवत भएको यसका अध्येताहरूले राख्दै आएका छन् । यस्तै अर्को भनाइ अनुसार विक्रम संवत् कुनै राजा वा व्यक्तिले चलाएको नभई सूर्यको नामबाटै चलेको हो भन्ने गरिन्छ ।

आ–आफ्नै शैलीमा नयाँ वर्ष
हिजोआज पश्चिमा संस्कृति र बढ्दो अन्तर्राष्ट्रियकरणका कारण ग्रेगोरियन पात्रोअनुसारको पहिलो दिन इस्वी संवत्ले पनि समाजमा प्रभाव जमाइसकेको छ । यो संवत् जिसस क्राइष्टको सम्झनामा चलाइएको हो । हाल संसारका अधिकांश देशमा यो संवत् प्रचलनमा छ ।

यी बाहेक नेपालमा अरू केही प्रचलित संवत् छन् । यले दोङ नेपालमा प्रचलित संवतमध्ये सबैभन्दा पुरानो संवत हो । यो संवत विशेषगरी किराँती जातिलगायत हायु, थामी, सुरेलआदिमा प्रचलित छ । यस्तै बुसँग जोडिएर आउने अर्को संवत हो बुद्घ संवत । कपिलवस्तुका राजा शुद्धोधनका छोरा सिद्धार्थलाई बुद्धत्व प्राप्त भएपछिको समयलाई लिएर हरेक वैशाख पूर्णिमामा यो संवत फेरिन्छ ।

त्यसैगरी, भक्तपुरका राजा राघवदेवले चलाएको संवत् हो– नेपाल संवत् । अंशुवर्मा महासामन्त भएपछि राजा शिवदेवको पालामा चलेको संवत् अंशुवर्मा संवत हो । मैथिलमा मिथिला संवत, तामाङ, शेर्पा, गुरूङ जातिले ल्होछारमार्फत आफ्नो पात्रो परिवर्तन गर्ने गर्दछन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -