भक्तपुर, चैत १८ | भुकम्प गएको ४ वर्ष पुग्न लाग्दा समेत विश्वसम्पदा सूचीमा सूचीकृत भक्तपुर सम्पदा अझै पनि टेकोको भरमा अडिएका छन् । दरबार स्क्वायरस्थित ५५ झ्याले दरबारसँगै जोडिएको राष्ट्रिय कला संग्रहालयलगायत कतिपय ऐतिहासिक तथा पुरातातिक संरचना अझै टेकाका भरमा अडिएका छन् ।
महाभूकम्पले जीर्ण भएका भक्तपुरका विश्वप्रसिद्ध सम्पदा चारैतिर टेका दिएर अड्याइएको राखिएको तर, त्यसको पुनर्निर्माण गर्नेतर्फ सरोकार निकायको तदारुकता देखिएको छैन । भूकम्पले भत्केको केही सम्पदाको मर्मत तथा पुनर्निर्माण भएपनि मुख्यतया दरबार स्क्वायरमा रहेको कला संग्रहालय र लाल बैठकको अवस्था अझै टेकाको भरमा छन् । यद्यपी केही सम्पदा भने पुनर्निर्माण भएका छन् ।
दरबार स्क्वायर क्षेत्रकै नारायण मन्दिर तथा कृष्ण मन्दिर पनि टेकाकै भरमा अडिएका छन् । विश्वसम्पदा सूचीमै रहेको दत्तात्रय स्क्वायरको पुजारी मठ र प्रसिद्ध मयूर झ्यालसमेत टेकाको भरमा छ । दरबार क्षेत्रकै वत्सला मन्दिर, नारायण सिद्धिलक्ष्मी मन्दिर, विश्वरूपा मन्दिर, सिद्धिगणेश मन्दिर, श्वेतभैरव, सिज महादेव, देगइना मन्दिर र ब्रह्मायणी मन्दिर, भेलुखेलस्थित च्यासिंमण्डप, खौमा ध्वाका, च्याम्हसिंह ढोकालगायत सम्पदा भूकम्पका बेला पूर्णरूपमा भत्किएका थिए ।