काठमाडौं, फागुन २७ गते । वसन्त ऋतुको आगमनसँगै युवापुस्ता, पारिवारिक समूह तथा स्वास्थ्य र वातावरणका अनुयायीहरू हाइकिङ जान थालेका छन् ।
अहिले राजधानी वरिपरिका डाँडाकाँडा वा ग्रामीण वस्तिमा छुट्टिका दिन हाइकिङ जानेहरूको लर्को नै लाग्नेगर्छ । हाइकिङ जानेमा युवादेखि उमेर ढल्किएका गृहणी तथा स्कुल कलेजका केटाकेटी समेत हुनेगरेका छन् ।
फर्पिङबाट हाइकिङ सुरु गर्नुभएको इञ्जिनियरिङ अध्ययनरत नितेश देवकोटा भन्नुभयो, “एक दिने हाइकिङका लागि आएको हाम्रो गन्तव्य चम्मादेवीसम्मको हो ।”
काठमाडौंको दक्षिण–पश्चिम क्षेत्रमा दुई हजार २८५ मिटरको उचाइमा रहेको चम्पादेवीका लागि फर्पिङबाट हाइकिङ सुरु गर्न सकिन्छ । यहाँबाट हिमशृङ्खला र काठमाडौँ उपत्यकासहित विभिन्न क्षेत्रको प्राकृतिक सौन्दर्यको अवलोकन गर्न सकिन्छ ।
देवकोटाले कामबाट फुर्सद पाएको समयमा साथीहरूसँग हाइकिङ जाने गरेको बताउनुभयो । उहाँलाई आफ्नो साथीहरूको समूहमा हाइकिङ जान मन पर्छ । दशैंको बिदामा चिसापानी जाने विचार गर्नुभएको देवकोटाले भन्नुभयो, “हाइकिङ जाँदा महिना भरिको थकान मेटिन्छ । महिनाको एक पटक समूह बनाएर विभिन्न नयाँ ठाउँमा हाइकिङ जाँदा रमाइलो हुन्छ ।”
स्वास्थ्यको दृष्टिकोणदेखि मनोरञ्जन गर्न र साथी तथा पारिवारसँग समय बिताउन हाइकिङ एउटा महोत्वपूर्ण माध्यम बनेको छ । नेपालमा स्वास्थ्यप्रति जनचेतना र वातावरण संरक्षणका अनुयायी बढेको र शोखका रूपमा पनि हाइकिङमा जानेहरूको सङ्ख्या निकै बढेको छ ।
मनकामना, ककनी, कालिङचोक, दक्षिणकाली, नमोबुद्ध, पाल्पा लगायतको ठाउँमा हाइकिङ गइसकेको बताउने देवकोटाले अब नयाँ ठाउँमा जाने सोच भएको बताउनुभयो । पहिलेको तुलनामा हाइकिङ जानेहरूको सङ्ख्या धेरै वृद्धि भएको देवकोटाले चर्चा गर्नुभयो ।
देवकोटाजस्तै धेरै युवाहरु हाइकिङमा रमाउने गरेका छन् । “हाइकिङले घुम्नुको मज्जा त मिल्छ नै त्यसको अतिरिक्त शरीरलाई तन्दुरुस्त राख्न पनि सहयोग पु¥याउँछ” देवकोटाले भन्नुभयो, “आफ्नो शारीरिक उचाइ र बनोटप्रति अत्यन्त चनाखो बन्ने गरेका युवापुस्ता हाइकिङमा लोभिनुका कारण पनि यही हो ।”
नेपाल टेलिकममा कार्यरत रोशन श्रेष्ठले ‘‘महिनामा दुई पटक कतै न कतै हाइकिङ जान्छु” भन्नुभयो । प्रकृतिप्रेमी भएको हुनाले काठमाडौंको होहल्लाबाट टाढा जाने रुची बढ्ने गरेको उहाँले बताउनुभयो ।
प्रकृतिप्रेमी समूह (निरोगधाम) ले पनि हरेक महिनाको चौथो शनिबार हाइकिङ लग्ने कारणले पनि हाइकिङ प्रेमी बढेका छन् । हरेक महिना एक सयदेखि तीन सयको सङ्ख्यामा हाइकिङ प्रेमीहरू उपस्थित हुने निरोगधामका अध्यक्ष डा. उमेश श्रेष्ठले बताउनुभयो ।
“पछिल्लो समय विभिन्न क्षेत्रका मानिस हाइकिङप्रति आकर्षित भएका छन्, यसको कारण हो सहरी जीवनशैलीमा आएको परिवर्तन” श्रेष्ठले भन्नुभयो, “काठमाडौँका सडक, धूँवा, धूलो यावत् कुराले उपत्यका वरपर हाइकिङ जानुको विकल्प छैन ।”
अध्यक्ष श्रेष्ठले हिँड्नु मुटुका लागि धेरै लाभदायक भएको बताउनुभो । नियमित हिँड्ने मानिसमा हृदयाघातको सम्भावना निकै कम हुन्छ उहाँले भन्नुभयो ।
उचाइमा पानी बोक्न गाह्रो हुने भएकाले पानी शुद्ध पार्न क्लोरिन ट्याब्लेट, स्किन क्रिम तथा हलुका ब्याकप्याक तयार पार्नु उपयुक्त हुने चम्पादेवीमा हाइकिङका लागि भेटिनुभएका साहना तुलाधरले बताउनुभयो । उहाँकाअनुसार ‘‘पहिलो पटक हाइकिङ जाने सोच बनाउँदा एक दुई दिन अगाडिबाट ‘वार्म अप’ गर्दा राम्रो हुन्छ । प्राथमिक उपचारका सामान आफूसँगै साथमा लिएर जानुपर्छ ।