काठमाडौं, ७ चैत्र २०७५ । बुधबार काठमाडौं उपत्यकासहित अन्य पहाडी जिल्लाहरुमा धुमधामकासाथ होली पर्व मनाइएको छ भने आज पूर्वी तथा पश्चिम तराईमा रंगहरुको पर्व होली मनाइँदै छ । तराईमा होली पर्वको अलग्गै विशेषता छ ।
पूर्वी तराईका राजवंशी, सन्थाल, मुसहर, थारु तथा अन्य विविध जातजातिलगायत पश्चिमी भेगका नेपाली तराईवासीहरुसम्मले आज यो रङ्गीन चाड मनाउँदै छन् । सांस्कृतिक पर्व होलीको महत्व आफ्नै किसिमको पाइन्छ । तराईमा नाचगान गर्दै एक–आपसमा रङ साटासाट गरेर होली मनाउने गरिन्छ । यद्यपि पछिल्लो समय तराईमा प्रचलित फागु पूर्णिमा अर्थात् होलीमा गाइने मौलिक गीत ‘जोगिरा सररर’ भने लोप हुँदै गएको छ । यही मौलिक गीत तराई–मधेसका शहर र गाउँ देहातमा होलीका बेला गाइने प्रचलित गीत हो । तर हिजोआज आधुनिक र आगन्तुक संस्कृतिको प्रभावसँगै यो मौलिक गीत हराउँदै गएको छ । अझ होलीमा भक्त प्रल्हादलाई आगोमा जलाउन खोज्ने होलिकालाई दहन गर्ने चलन छ ।
मिथिला भूमिमा भने धनुषाधामको कचुरीबाट डोला उठाएर जटहीलगायत महोत्तरीको मठियानी, जलेश्वर, डाम्ही, धनौरा हुँदै कन्चनवन आएर होली मनाउने धेरै पुरानो चलन छ । यस्तो डोलीको तिर्थालु पदयात्रालाई परिक्रमा भनिन्छ । कन्चनवनमा सकिएको परिक्रमा यात्रीहरु जनकपुरमा आएर अन्तगृह घुमेपछी होलीको समापन गरिन्छ । यस्ता पदयात्रामा राम अनि सीताका कथाहरु अनि भजन गाइन्छ ।
होली पर्वको अवसरमा सरकारले आज तराईका जिल्लाहरुमा सार्वजनिक बिदा समेत दिएको छ ।










































