वीरगन्ज, फागुन १० गते । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले लिएको लक्ष्य समृद्ध नेपाल र सुखी नेपालीलाई साकार पार्न महिलालाई शिक्षित बनाई जिम्मेवार नागरिक बनाउनु जरुरी रहेको बताउनुभएको छ ।
राष्ट्रपति भण्डारी बिहीबार वीरगन्जमा प्रदेश २ सरकारले आयोजना गरेको ‘बेटी पढाऊ बेटी बचाऊ’ अभियान अन्तर्गत छोरी शिक्षा बीमा मुद्दती बचत कार्यक्रमको समुद्घाटन गर्दै सो कुरा बताउनुभएको हो । शिक्षाको अभावमा महिलाप्रति हुने दुव्र्यवहार हिंसा, दाइजो लगायत विकृति र विसङ्गति निराकरण गर्न नसकिएको भन्दै उहाँले नारी शिक्षित भए समाज शिक्षित हुने धारणा व्यक्त गर्नुभयो ।
छोरी र छोरालाई हेर्ने दृष्टिकोण फरक–फरक रहेकाले समाजमा महिला अपहेलित हुने गरेको प्रसङ्ग उठाउँदै उहाँले छोरीप्रतिको नकारात्मक सोचमा परिर्वतन ल्याउन शिक्षा नै मूल माध्यम भएको स्पष्ट पार्नुभयो ।
राष्ट्रपति भण्डारीले संविधानले महिलाप्रति गरिने सबै खालको भेदभावलाई अन्त्य गरेको भन्दै त्यसको सही कार्यान्वयन हुनुपर्नेमा जोड दिनुभयो । शिक्षालाई महिलाको पहुँचमा पु¥याउन सके आफ्ना हक र अधिकार लिन उनीहरू सक्षम हुने विचार पनि उहाँले राख्नुभयो ।
विभेद नगरी छोरा र छोरीलाई समान व्यवहार गर्दा परिवार र समाजमा शान्ति कायम हुने भन्दै उहाँले छोरीलाई शिक्षासँगै रोजगारीको अवसर पनि सुनिश्चित गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।
कार्यक्रममा प्रदेश २ का प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले समतामूलक समाजको निमार्णमा प्रदेश सरकारले अगाडि सारेको ‘बेटी पढाऊ बेटी बचाउ’ कार्यक्रम महत्वपूर्ण र प्रभावकारी भएको बताउनुभयो । उहाँले यो कार्यक्रमले समाजिक जागरणलाई अगाडि बढाउनुका साथै समृद्ध समाज निमार्णमा सहयोग गर्ने छ भन्नुभयो ।
मुख्यमन्त्री लालबाबु राउतले छोरा र छोरीलाई दिइने विभेदकारी समाजिक कुरीतिका कारण धेरै छोरी शिक्षाबाट बञ्चित हँुदै आएकाले प्रदेश सरकारले अभियानकै रुपमा यो कार्यक्रमलाई अगाडि बढाएको बताउनुभयो ।
वीरगन्ज महानगरपालिकाको वडा नं. १ देखि १६ सम्मका २०७५ साल माघ १ गतेदेखि जन्मिएका छोरीको नाममा प्रभु बैङ्कमा एक लाख रुपियाँ मुद्दती खातामा जम्मा गरी छोरीका शिक्षा र सुरक्षाका लागि कार्यक्रम अगाडि बढाइने छ ।
उहाँले निकट भविष्यमै प्रत्येक सामुदायिक बिद्यालयका छात्राका लागि साइकल वितरण, शौचालय र सेनेटरीप्याडको व्यवस्थालगायतका कार्यक्रम ल्याइने जानकारी दिनुभयो ।