काठमाडौं, २३ माघ २०७५ । आर्मीका सुशील थापा र पुलिसकी दिवाना शेर्मा तेस्रो वीर गणेशमान राष्ट्रिय बक्सिङ प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेका छन् ।वसन्तपुर डबलीमा मंगलबार भएको खेलमा थापाले ४९ केजी तौलमा गण्डकीका सुरज गुरुङलाई हराए । शेर्माले महिलाको ४९ केजी तौलमा गण्डकी प्रदेशकै आकृति गुरुङलाई हराइन् ।
पुरुष ४९ केजीमा प्रदेश २ का पवन श्रेष्ठले प्रदेश १ का धर्मेन्द्र राईलाई पराजित गरे । पुरुष ५६ केजी तौल समूहमा प्रदेश १ का सुरेन्द्र राईले प्रदेश ४ का दुथबहादुर परियारलाई पहिलो राउन्डमा नै पाखा लगाए ।
महिलातर्फ ४६ देखि ४८ केजी तौल समूहमा प्रदेश ५ की सुशीला थापाले प्रदेश २ की सपना गुरुङलाई हराइन् ।
पुरुष ६० केजी तौल समूहमा प्रदेश ३ का सनिल शाही र प्रदेश ८ का भरत चन्दले जित हासिल गरे ।
सनिलले प्रदेश ६ का सागर श्रेष्ठलाई पहिलो राउन्डमा हराए भने भरतले प्रदेश १ का रोविन प्रधानलाई पराजित गरे । पुरुष ६४ केजीतर्फ प्रदेश २ का किशोर शर्माले प्रदेश ७ का विक्रम चौधरीलाई हराए । सबै विजेता खेलाडीले क्वार्टरफाइनलमा स्थान सुरक्षित गरे ।
उद्घाटन समारोहमा बक्सिङका पूर्वखेलाडी एवं प्रशिक्षक सुरेश आलेमगरलाई १ लाख १ हजार नगदसहिद सम्मान गरिएको थियो । गणेशमान सिंह फाउन्डेसनका अध्यक्ष तथा सांसद प्रकाशमान सिंहले मगरलाई प्रशंसापत्रसहित सम्मान गरे ।
गणेशमान सिंहका नाममा यसअघि दुई संस्करण योङ स्टार क्लबले खुला बक्सिङ प्रतियोगिता आयोजना गरेको थियो । प्रतियोगितामा सर्वोत्कृष्ट प्रदर्शन गर्ने पुरुष खेलाडीलाई मोटर साइकल र महिला खेलाडीलाई स्कुटर प्रदान गरिने प्रतियोगिताका संयोजक नेपाल बक्सिङ संघका पूर्वअध्यक्ष राजीव श्रेष्ठले बताए ।