गोरखा, २२ माघ २०७५ । पालुङटार नगरपालिका–५ माझटारमा प्याराग्लाइडिङ उडानको परीक्षण गरिएको छ । लिगलिगकोटबाट तीन वटा उडान गरिएको गोरखा उद्योग बाणिज्य संघ पालुङटार बजार इकाइले जनाएको छ ।
पालुङटार नगरपालिका–५ माझटारमा हुने पहिलो पालुङटार लिगलिग महोत्सवका लागि प्याराग्लाइडिङ परीक्षण गरिएको हो । ‘महोत्सवमा प्याराग्लाइडिङ पनि समावेश गरेका छौ, सम्भव हुन्छ की हुदैन भनेर आज उडान परीक्षण गरेका हौं,’ इकाइका अध्यक्ष आशिष देवकोटाले भन्नुभयो, ।
स्थानीय कला र संस्कृतिको संरक्षण सँगै पर्यटन प्रवर्द्धनका लागि महोत्सव गर्न लागिएको उनको भनाइ छ । फागुन ३ देखि १२ गते सम्म चल्ने महोत्सवमा ‘पालुङटार सिंगिङ एण्ड डान्सिङ स्टार’, औद्योगिक प्रर्दशनी, हस्तकला प्रदर्शनी, कृषि प्रर्दशनी, खाना महोत्सव, सांस्कृतिक भेषभुषा प्रर्दशनी, हास्यव्यंग्य र मनोरन्जनात्मक कार्यक्रम हुने देवकोटाले जानकारी दिनु भयो । ‘नगरका वडाहरुबीच सद्भाव बढाउन वडा स्तरिय डोरी तान्ने प्रतियोगीता पनि राखेका छौ,’ उहाले भन्नुभयो ।