काठमाडौं, ४ मंसिर । नेपाल पर्यटन बोर्डका कार्यकारी अधिकृत दिपकराज जोशीले नेपाल भ्रमण वर्ष घोषणा गरिएको सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्य पूरा गर्न सरकारले तिव्र्र रुपमा काम अगाडि बढाएको बताएका छन् ।
मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै सिईओ जोशीले सन् २०१५ मा गएको शक्तिशाली भुकम्पपछि नेपालमा पर्यटकको संख्या बढाउन ‘भिजिट नेपाल –२०२०’ ले महत्वपूर्ण भुमिका खेल्ने विश्वास दिलाए ।
उनले पर्यटकहरू न्यून संख्यामा आउने मौसममा पनि उनीहरूलाई आकर्षित गर्ने योजना अघि सारिएको जनाए । उनले भने,‘नेपाल भ्रमण वर्षमा २० लाख पर्यटक भित्र्याउनेगरि काम अघि बढाईसकेका छौं ।’
उनले २० लाख पर्यटक भित्र्याउने उद्देश्यसहित घोषणा भएको ‘नेपाल भ्रमण वर्ष’ लाई सफल बनाउनका लगि मन्त्रालयलगायत मातहतका निकाय सक्रियताका साथ काममा लागिपरेको स्पष्ट पारे ।
जोशीले भने,‘पर्यटनको लागि चाहिने पूर्वाधारहरु निर्माणको लागि पनि हामीले सरोकारवाला निकायहरुसँग समन्वय गरेर काम अघि बढाएका छौं ।’
भुकम्प पहिले नेपालमा पर्यटकको संख्या प्रतिवर्ष दश लाख रहेकोमा पछिल्ला दुई वर्षभित्र नेपालले सोचेकोभन्दा बढि नै पर्यटक भित्राउन सफल भएको उनले दाबी गरे । जोशीले भने,‘देशमा अहिले पूर्वाधार विकासको काम भैरहेकाले पर्यटक नेपालमा ल्याउन सहयोग पुग्नेछ ।’
भैरहवा बिमानस्थलको काम तिब्र गतिमा अगाडि बढिरहेकाले सन् २०१९ को सेप्टेम्बरबाट उक्त विमानस्थलबाटै उडान भर्न मिल्ने उनले जनाए । जोशीले त्रिभुवन विमानस्थलको धावनमार्गको कामपनि धमाधम अगाडि बढेकाले पर्यटकलाई आवत–जावतमा कुनै बाधा नपर्ने स्पष्ट पारे ।
विधमान देशको परिस्थितीको बारेमा अन्तर्राष्ट्रिय समुदायमा राम्रो सुचनाको प्रवाह भएकाले लक्ष्यभन्दा माथि नै पर्यटकहरु नेपाल ल्याउन भिजिट नेपाल–२०२० ले महत्वपुर्ण भुमिका खेल्ने उनको भनाई थियो ।
देशको आर्थिक समृद्धिसँग पर्यटनको विकास र यस क्षेत्रमा हुने सकारात्मक परिवर्तनले विशेष महत्व राख्ने जोशीको भनाई छ । उनले भने,‘यसकारण पनि सरकार पर्यटन विकासमा थप सक्रिय देखिएको हो ।
विगतमा पर्यटन प्रवद्र्धनका लागि चलाईएका अभियानले अपेक्षाअनुसार पर्यटक भित्राउन सफल भएको निश्कर्षसँगै सरकार आगामी सन् २०२० भित्र वार्षिक २० देखि २५ लाख पर्यटक ल्याउने लक्ष्यका साथ अघि बढेको छ । यसमा सबैको साथ र सहयोगको हामीले अपेक्षा गरेका छौं ।’
सरकारले विगतमा ‘भिजिट नेपाल–१९९८’, ‘नेपाल टुरिजम इअर–२०११’ लगायत विभिन्न समय देशमा पर्यटन विकासलाई बढावा दिन अभियान चलाउँदै आएको उनले स्मरण गराए । सन् २०१५ मा गएको भूकम्प र नाकाबन्दीका कारण पर्यटकको संख्यामा आएको कमी हटाउन सरकार अहिले प्रयाशरत रहेको जोशीले बताए ।
विमानस्थल निर्माणलाई उच्च प्राथमिकता दिएर नीजी क्षेत्रले पनि पर्यटकीय पूर्वाधारमा लगानी बढाउन अग्रसर हुने हो भने भिजिट नेपाल–२०२० को सपना अपेक्षाअनुसार सफल बन्न मद्दत पुग्ने जोशीको भनाई छ । उनले नेपालमा वर्षैभरि पर्यटन आउने अवस्थाको सिर्जना गर्न लागिएको पनि बताए ।
जोशीले भने,“अक्टोबर, नोभेम्बर र डिसेम्बरमा जहिले पनि ठूलो संख्यामा पर्यटकहरू भित्रिने तर गर्मी र वर्षाको बेला साह्रै कम पर्यटक आउने भएकाले कम पर्यटक आउने समयलाई लक्षित गरेर विशेष प्रचारप्रसारको काम गर्दैछौँ।’’
फरक प्रसँगमा उनले आफूहरुले नेपालमा पर्यटकहरु बढाउनको लागि ‘डिजिटल–मार्केटिङ’ लाई अघि बढाएको पनि बताए । त्यस्तै, विश्व प्रख्याँत सेलिब्रेटीहरुलाई पनि नेपालको भ्रमण गराएर विश्वमै नेपालको पयर्टनको प्रचारप्रसार गर्ने आफूहरुको योजना रहेको सुनाए ।