- ADVERTISEMENT -

हिमालको फेदीमा सामूहिक चौंरीपालन

November 12, 2018
1394
Shares
- ADVERTISEMENT -

बेनी(म्याग्दी) कात्तिक २६ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ५ स्थित अन्नपूर्ण र निलगिरी हिमालको फेदीमा यहाँका स्थानीयले वर्षौ देखि सामूहिक रुपमा चौंरीपालन गर्दै आएका छन् । समुन्द्र सतह देखि तिनहजार ६ सय साठी मिटरको उचाईमा रहेको खोप्रा लेकमा स्थानीयले व्यवस्थित गोठ निर्माण गरी विगत २२ वर्ष देखि चौंरीपालन गर्दै आएका हुन ।

गाउँका दुई विद्यालयलाई आयस्रोत जुटाउन सामाजिक अभियन्ता महावीर पुनको अगुवाईमा तिनलाख रुपियाँबाट सुरु गरिएको चौरीपालन अहिले करिब पचासलाख रुपियाँ वरावरको लगानी पुगेको छ । चौरीपालन व्यवसायबाट राम्रो आम्दानी हुनथालेपछि थप विस्तार गर्ने योजना स्थानीयले बनाएका छन् । चौरीगोठका साथै धौलागिरी,अन्नपूर्ण र निलगरी लगायत हिमशृङखलाको अवलोकन गर्न यहाँ पर्यटक आउने गर्छन ।
चौंरीपालनबाट वार्षिक रुपमा ६ लाख रुपियाँ वरावरको कारोवार हुने र सवै खर्च कटाएर साढे तिनलाख रुपियाँ आम्दानी हुने सामुदायिक चौरीपालन समुहका कोषाध्यक्ष भिमवहादुर पुनले बताउनुभयो । २०५३ सालमा मुस्ताङबाट २८ चौरीगाई ल्याएर पाल्न सुरु गरिएको थियो । अहिले चौरी गोठमा एकसय ७१ चौरीगाई र याक छन् । प्रति चौरी ७० देखि ७५ हजार रुपियाँ सम्ममा विक्री हुन्छ । चौरीपाल्नका लागि अन्नपूर्ण गाउँपालिका ५ पाउद्धार र ८ नागीका स्थानीयहरुले खोप्रालेकमा व्यवस्थित चौरी गोठ बनाएका छन् ।

- ADVERTISEMENT -

Advertisement

पाउद्धार मावि पाउद्धार र हिमाञ्चल मावि नागीमा सरकारी दरबन्दी नहुँदा विद्यालय सञ्चालन गर्न समस्या भएपछि सामाजिक अभियन्ता पुनको अगुवाईमा सामुदायिक रुपले चौंरीपालन गर्ने र आम्दानीको ६० प्रतिशत पाउद्धार र ४० प्रतिशत हिमाञ्चल माविमा दिने सहमतिका साथ चौरीपालन गर्न सुरु गरिएको कोषाध्यक्ष पुनले बताउनुभयो ।
चौरी पालनलाई व्यवस्थित बनाउन दुबै गाउँको भेलाले संयुक्त रूपमा समितिको चयन गर्ने गरिन्छ । खाने र वस्ने व्यवस्था सहित मासिक १४ हजार रुपियाँका दरले दुईजना गोठाला राखेर चौरी र याकको रेखदेख गर्दै आएको चौरीपालन समितिका कोषाध्यक्ष पुनले बताउनुभयो । विद्यालय सञ्चालनका लागि आर्थिक स्रोत जुटाउनका लागि हामीले सामुहिक रुपमा चौंरीपालन गर्दै आएका छौं कोषाध्यक्ष पुनले भन्नुभयो, ‘चौंरीको आम्दानीले विद्यालय सञ्चालनमा टेवा पुगेको छ ।’ सरकारी स्तरबाट सहयोग मिलेमा व्यवसायलाई थप विस्तार गर्ने योजना रहेको उहाँले बताउनुभयो ।

उच्च हिमाली क्षेत्रमा पाइने विभिन्न किसिमका जडिबुटी खाएका चौरीगाईको आलो रगत पिएमा विभिन्न रोग निको हुने जनविश्वासले समितिले वर्षको दुईपटक फागुन र साउनमा चौंरीगाईको रगत पिउने मेला सञ्चालन गरिने कोषाध्यक्ष पुनले बताउनुभयो । मेलामा चौरीको आलोरगत प्रतिगिलास एकसय रुपियाँमा विक्री हुन्छ । वर्षको दुइपटक खोप्रालेक र लहरेनीमा आयोजना हुने रगत पिउने मेलामा रगतसँगै चौरीगाईको सुकुटी र पुच्छर विक्री हुन्छ । मेलामा रगत पिउनका लागि काठमाण्डौ,पोखरा, भैरहवा लगायत विभिन्न जिल्लाहरुबाट सयौंको संख्यामा मानिसहरु आउछन् ।

आलो रगत पिएमा ग्याष्ट्रिक, गानोगोला, छालासम्बन्धी रोग र शारीरिक स्फूर्ती बढ्ने जनविश्वास छ । ‘चौरीपालनले विद्यालय सञ्चालन गर्न धेरै सहज भएको छ, पाउद्धार माविकी प्रधानाध्यापक थममाया पुनले भन्नुभयो ‘अझ यसलाई विस्तार गर्न सकेमा विद्यालयको भौतिक पूर्वाधार निर्माण गर्न पनि सरकारको मुख ताक्नुपर्ने थिएन ।’

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -