न्युयोर्क, शनिबार, १४ जेठ २०७९ । संयुक्त राज्य अमेरिकाको न्युयोर्क राज्य संसदमा नेपाली मूलकी सराहना श्रेष्ठले उम्मेदवारी घोषणा गरेकी छिन् ।
न्युयोर्क राज्यको संसदमा उम्मेदवारीको घोषणा गर्ने श्रेष्ठ नेपाली मूलकी पहिलो अमेरिकन हुन् । उनले न्युयोर्क राज्य संसदको तल्लो सदनमा डिस्ट्रिक्ट १०३ बाट उम्मेदवारीको घोषणा गरेकी हुन् ।
जलवायु संकट र आर्थिक तथा सामाजिक न्यायका विषयमा आवज उठाउँदै आएकी श्रेष्ठले न्युयोर्क अल्स्टर र डचेज काउन्टीको प्रतिनिधित्व गर्ने क्षेत्रबाट उम्मेदबारीको घोषणा गरेकी हुन् । उनलाई डेमोक्रेटिक सोसलिष्टको हडसन भ्याली च्याप्टरले इन्डोर्स गरेको थियो ।
आगामी प्राइमरीका लागि श्रेष्ठले गत बर्ष नै चुनावी अभियान सुरु गरेकी थिइन् । उनले न्युयोर्क हेल्थ एक्ट, गुड कज इभिक्सन र ग्रिन न्यु डिलजस्ता बामपन्थी एजेण्डाहरुको समर्थन गरेकी छिन् ।
डेमोक्रेटिक सोसलिष्टको हडसन भ्याली च्याप्टर र फर द मेनी नामको समुहले श्रेष्ठको उम्मेदबारीको समर्थन गरेका थिए । उनको उम्मेदबारीको चर्चित अमेरिकन सांसद अलेक्जान्ड्रिया ओकासिओ कोर्टेजले पनि समर्थन गरिसकेकी छिन् ।





































