साउदी, १९ बैशाख २०७७ । विश्वव्यापी महामारीका रूपमामा फैलिएका कोरोना भाइरस (कोभिड-१९) बाट साउदी अरेबियामा ठूलो संख्या नेपाली संक्रमित भएका छन् ।
साउदीको जेद्दामा २६ जना नेपालीलाई कोरोना संक्रमित भएको महावाणिज्यदूत रेवती रमण पौडेलले जानकारी दिए । महावाणिज्यदूत पौडेलका अनुसार जेद्दा आसपास रहेका नेपालीहरुसँगको नियमित सम्पर्क रहनेक्रममा उनीहरू संक्रमित भएको जानकारी आएको हो ।
‘ संक्रमित नेपाली र उनीहरूको उपचार संलग्न चिकित्सकसँग नियमित फोनमार्फत संवाद गरिरहेका छौं,’ महावाणिज्यदूत पौडेलल भने,’ एकजना उपचारपछि कम्पनी फर्के, २५ जनाको विभिन्न अस्पतालहरुमा उपचाररत छन् ।’ चिकित्सकहरुका अनुसार एकजना संक्रमित स्वासप्रस्वासको समस्या रहेको र अन्यलाई ज्वरो र खोकी देखिएको महावाणिज्यदूत पौडेलले बताए । संक्रमितहरुको उपचारमा संलग्न चिकित्सकहरुले एकजना बाहेक अन्य संक्रमित सामान्य रहेको बताएका छन् ।
महावाणिज्यदूत पौडेल नियमित जानकारी आधिकारिक फेसबूक पेजमा दैनिक जसो जानकारी आउने बताउदै विभिन्न माध्यमबाट आफूलाई सम्पर्क गर्न सकिने बताए ।
त्यसैगरी नेपाली दूतावासले भने हालसम्म ४ जना संक्रमित भएको र उनीहरू उपचारपछि नियमित काममा फर्किसकेको सार्वजनिक गर्दै आएका छन् । दूतावासले जेद्दामा भेटिएका भनेका २६ जना संक्रमितका बारेमा महावाणिज्यदूतावाससँग जानकारी भएको बताए ।
साउदी अरेबियामा महावाणिज्यदूतावास र दूतावासले पुष्टि गरेका कुल कोरोना संक्रमित नेपाली ३० पुगेका छन् ।
साउदीका लागि नेपाली राजदूत महेन्द्रप्रसाद सिंह राजपुतले दैनिक साउदीका स्वास्थ्य मन्त्रालय र सम्बन्धित निकायलाई नेपालीहरु संक्रमित भएनभएको जानकारी लिदै आएको बताए । ‘ कोरोनाको संकेत ज्वरो, खोकी भएकाले पनि नेपालीहरु आत्तिएर संक्रमित भएको अनुमानि गरि फोन गर्नुहुन्छ ,’ राजदूत राजपुतले भने,’ हामीलाई दैनिक रूपमा हाल १५० भन्दा बढी फोनहरुमा कोरोनाबाट बच्ने र बचाउने तरिका बताइरहेका छौं ।’
त्यसैगरी केही मिडियाकर्मीहरुले भने दूतावासले कोरोना संक्रमित संख्या लुकाएको हुनसक्ने बताएका छन् ।उनीहरूले १२ जना नेपाली कोरोना संक्रमितहरुले फोन मार्फत जानकारी दिएको बताए । यस्तै तुक्बास्थित अल दुसरी अस्पतालमा खोबारको लुलु मार्केटमा कार्यरत एकजना नेपालीलाई कोरोना पोजिटिभ भएको अस्पतालको सूचना बोर्डमा उल्लेख गरेको छ ।
साउदी अरेबियामा बिहिवार १ हजार ३ सय ५३ कोरोना नयाँ संक्रमित भेटिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। महम्मद अल अब्दुलालीले जानकारी दिए । उनका अनुसार ३ हजार १ सय ६३ जना सफल उपचारपछि घर फर्किसकेका छन् ,भने कोरोना संक्रमित १६२ जना मृत्यु भएका छन् ।
यहा कोरोनाको संकेत देखिएमा मन्त्रालयको टोल फ्री नम्बर ९३७ मा तुरुन्त फोन गर्न प्रवक्ता डा। अब्दुलालीले ‘ We are all responsible ’ भन्ने नारालाई आत्मसात गरी कोभिड-१९ रोकथामका लागि सरकारले गरेका प्रयासलाई सबैले सहयोग गर्न आग्रह गरे ।
पछिल्ला दिनयता साउदीमा दैनिक तीब्र रूपमा संक्रमित भेटिन थालेका छन् । यहि गतिमा कोरोना भाइरस संक्रमित थपिदै गए २ लाखसम्म पुग्न सक्ने अनुमान लगाएका छन् ।
सरकारले कोभिड-१९ संक्रमण रोकथामका लागि गत मार्च २३ मा कर्फ्यु जारी गरेका थिए । मुसलमानहरुको रमजन अर्थात वर्ता बस्ने महिनालाई मध्यनजर गरेर किनमेलका लागि मक्का बाहेकका शहरमा कर्फ्यु बिहान ९।०० बजेदेखि साँझ ५ बजेसम्मका खुल्ला गरेका छन् । मार्च २१ तारीखदेखि बन्द रहेका सार्वजनिक यातायात भने यथावत राखिएका छन् ।
यसअघि मुसलमानहरुको धार्मिकस्थल मक्का, मदिनासँगै झन्डै एक दर्जन प्रान्तमा २४ घन्टा कर्फ्यु आदेश जारी थिए , भने बाँकी प्रान्तमा १५ घन्टा कर्फ्यु आदेश जारी रहेका छन् । अब शुक्रबारदेखि देशभर १६ घन्टा कर्फ्यु रहनेछन् ।
त्यसैगरी कर्फ्यु उलंघन सम्बन्धी कुनै पनि भिडियो, भ्वाइस रेकर्ड, वा फोटोहरू सामाजिक संजालमा नराख्न साउदीका लागि नेपाली राजदूत प्राडा। महेन्द्रप्रसाद सिंह राजपुतले आग्रह गरे । ‘ यहाँका सरकारले सुरक्षाका लागि जारी गरिएको मापदण्डलाई पालना गर्नुहोस्,’ अन्यथा १० हजार रियालदेखि २ लाखसम्म जरिवना र जेल सजाय भोग्नुपर्छ, ’उनले भने ।
नेपाली दूतावास साउदी अरेबियाले यहाँ रहेका नेपालीहरुलाई निरन्तर सम्पर्क रहन र दूतावासको फेसबूक पेजमा आएका सूचनालाई आधार मान्न समेत आग्रह गरेको छ । दूतावासका अनुसार रियादस्थित रहेका नेपाली डा। अनिरुदा पाठकको मोबाइल नं। ०५४६३५६०२३ मा ११।०० बजेदेखि ३।०० बजेसम्म फोन गरी परामर्श लिनसक्ने छन् । त्यस्तै सोही नम्बरअन्तर्गत ईमो र ह्वाटसपमा पनि सम्पर्क गर्नसक्ने जनाएको छ ।
संसारभर महामारी फैलिएका बेला कुनैपनि बहानामा आवास नछोड्न दूतावास उपप्रमुख दिलीपकुमार पौडेलले आग्रह गरे । ‘ यदि कसैले आवास छोड्न दबाब दिन्छ, भने नजिकको प्रहरीचौकी वा दूतावासमा सम्पर्क गर्नुहोस्’ उपप्रमुख पौडेलले भने । उनका अनुसार लकडाउन भित्र विभिन्न कम्पनीहरुले त्यहाँ कार्यरत नेपालीहरुलाई आवास छोड्न दबाब दिएको गुनासो दूतावास आएका थिए । ‘ हालसम्म ४ जना नेपालीमा बाहेक कोरोना संक्रमित भएको जानकारी छैन, ‘ उपप्रमुख पौडेलले भने, ‘ उनीहरू समेत सफल उपचारपछि कम्पनी फर्किसकेका छन् ।





































