हङकङ, १३ चैत २०७६ । नेपालीहरुको बसोबास रहेको हङकङमा पहिलो पटक एक नेपालीमा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ ।
नेपालमा पोखरा स्थायी घर भएका २८ वर्षीय गुरुङ थरका ती युवाको स्वास्थ्य परीक्षणका क्रममा कोरोना संक्रमण भएको पुष्टि भएको हो । १० वर्षदेखि हङकङ बस्दै आएका ती युवा चार वर्षयता लान क्वाई फोङको बारमा काम गर्दै आएको थाहा भएको छ ।
उनको सहकर्मीलाई कोरोना संक्रमण देखिएपछि उनीलाई पनि परीक्षण गरिएको थियो । परीक्षण रिपोर्ट पोजेटिभ आएपछि गुरुङलाई कोरोना संक्रमणको पुष्टि भएको हो ।
उनको हङकङको सेङ सुइस्थित नर्थ डिष्ट्रिक अस्पतालको आइसीयूमा उपचार भइरहेको छ ।
गैरआवासीय नेपाली संघ, हङकङका अध्यक्ष राधिका गुरुङ (टिका) ले एक नेपाली युवामा कोरोना संक्रमण भएको पुष्टि गरिन् । उनले हङकङ बसोबास गर्ने सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई सतर्कता अपनाउन र सुरक्षित रहन समेत आव्हान गरिन् ।





































