क्यानडा, ८ मङ्सिर २०७६ । क्यानेडियन प्रधानमन्त्री जस्टिन ट्रुडोले गठन गरेको नयाँ मन्त्रिपरिषदमा पहिलो पटक हिन्दू महिलाको इन्ट्री भएको छ ।
नयाँ मन्त्रिपरिषदमा भारतीय मूलकी हिन्दू महिला अनिता इन्दिरा आनन्द पनि मन्त्री भएकी छिन् । सम्भवतः क्यानडाको इतिहासमै हिन्दू धर्मावलम्वीको प्रतिनिधित्व गर्ने उनी पहिलो मन्त्री भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
आफूले विविधतालाई महत्व दिएर हिन्दू महिलालाई पनि अवसर प्रदान गरेको प्रधानमन्त्री जस्टिनले प्रतिक्रिया दिएका छन् । क्यानडामा भारतीय मूलका अरु तीन नेता पनि मन्त्री बनिसकेका छन् ।
आनन्द अक्टोबर महिनामा पहिलो पटक सांसदमा निर्वाचित भएकी थिइन् । नयाँ मन्त्रिपरिषद्मा उनलाई सार्वजनिक सेवा र खरीद मन्त्रालयको जिम्मेवारी दिइएको हो ।
कानून विषयको प्राध्यापक समेत रहेकी आनन्द टोरन्टोले एक विश्वविद्यालयमा पढाउँदै आएकी थिइन् । आनन्द नोभा स्कोटियाको केन्टभिल्ला सहरमा जन्मिएकी हुन् । उनकी आमा सरोज राम भारतको अमृतसरकी हुन भने बावु एसभी आनन्द तामिलनाडुका हुन् ।





































