दिनभर चल्ने हावासँगै चिसो बढेपछि मधेशको जनजीवन प्रभावित भएको छ । हाट बजार तथा व्यापारिक केन्द्रमा सर्वसाधरणको चहलपहल घटेको छ । जनकपुरधामबाट छुट्ने लामो तथा छोटो दुरीका सवारीसाधन प्रभावित भएका छन् ।
जाडो छल्न बालबालिका तथा वृद्धवृद्धाहरू ठाउँठाउँमा आगो तापिरहेका देखिन्छन् । अस्पतालमा रुघाखोकी, निमोनियालगायतका बिरामीको संख्या बढेको प्रादेशिक अस्पताल जनकपुरधामका उपनिर्देशक डा. केडी दासले बताए । चिसोको कारण बालबालिका र वृद्धवृद्धाहरू बढी प्रभावित हुने उनको भनाइ छ । न्यानो लुगा लगाउन तथा झोलिलो खानेकुरा खान उनको सल्लाह छ ।
चिसोको कारण सरकारी कार्यालयहरूमा आउने सेवाग्राहीको संख्या घटेको छ । बाहिर श्रम गर्ने, अटो रिक्सा, ठेला चलाउने तथा निर्माणको काम गर्ने मजदूर बढी प्रभावित भएका छन् । शीतलहर, बाक्लो कुहिरोका कारण चौपाया, पशुपंक्षी तथा बालिनालीलाई असर पुर्याएको छ ।
कुहिरोको कारण सवारी दुर्घटना हुन सक्ने भन्दै जिल्ला ट्राफिक कार्यालय धनुषाले सचेत गराएको छ । कुहिरोका कारण ५० मिटरभन्दा बढी सडक देख्न नसकिने भएकोले विपरीत दिशाबाट आउने सवारीसाधान र पैदलयात्रु तथा सवारी दुर्घटना पर्ने जोखिम भएकोले निगरानी बढाएको धनुषा ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक हरिबहादुर वलीले बताए ।









































