अहिले काठमाडौं उपत्यकासहित देशभरका विभिन्न ठाउँमा मेघ गर्जनसहित पानी परिरहेको छ ।
उपत्यकासहित गण्डकी प्रदेशको लमजुङ, गोरखा तथा लुम्बिनी प्रदेशको पाल्पाभन्दा पूर्व देशका धेरैजसो ठाउँमा बदली र केही ठाउँमा वर्षा भइरहेको हो ।

सबैभन्दा बढी तराई क्षेत्रमा पानी परेको छ । पर्साको मुडलीमा बिहान तीन घण्टामै ८१ मिलिमिटरभन्दा धेरै पानी परेको छ । पूर्वी तराईको धेरैजसो ठाउँमा पानी परेको छ ।
नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीकोसमेत प्रभाव रहेकोले बदली र वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज देशका सबैजसो ठाउँमा बदली भएर मध्य र पूर्वका धेरैजसो ठाउँमा वर्षाको सम्भावना रहेको मौसमविद् गोविन्द झाले जानकारी दिए ।
साथै कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई ठाउँमा भारी बर्षाको समेत सम्भावना छ ।
देशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै ठाउँमा हल्का हिमपातको सम्भावना पनि छ ।









































