स्याङ्जा।
चापाकोट नगरपालिकामा दोश्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आयोजना सुरु भएको छ। प्रतियोगिता गंगालाल मावि चापाकाेट-९ काे खेल मैदानमा सुरु भएको हो। फागुन ३ गते देखि ६ गते सम्म संञ्चालन हुने खेलमा चापाकोट नगरपालिकाभर रहेका विद्यार्थीहरुले भाग लिएका छन्। बिभिन्न विधामा खेलाईने खेलमा नगरपालिका भित्रका १६ वटा सामुदायिक विद्यालय र २ वटा संस्थागत विद्यालयले सहभागीता जनाएका छन । प्रतियोगितामा करिब ३६० विद्यार्थी सहभागी भएका छन।


बुधबार नगरप्रमुख देव बहादुर खाँण ( ईश्वर ) को प्रमुख आतिथ्यतामा कार्यक्रमको भव्य उद्घाटन गरेसँगै खेलहरु प्रारम्भ भएका हुन् । कार्यक्रममा विशिष्ट अतिथिको रुपमा नगर-उपप्रमुख ईशा रानाको उपस्थिति रहेको थियो। अतिथिहरुमा प्रमुख प्रशासकीय अधिकृत, १० वटै वडाका वडा अध्यक्षहरु, शाखा प्रमुख, नगर शिक्षा समितिका सदस्यहरु, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु, नगरपालिकाका विषयगत शाखाका प्रमुख एवम कर्मचारीहरु, सामुदायिक तथा संस्थागत बिधालयका प्रधानाध्यापकहरु , सम्बन्धित खेलका रेफ्री तथा प्रशिक्षकहरु, सुरक्षाकर्मीहरु, पत्रकारहरु, समाजसेवी, शिक्षा ,खेलकुद प्रेमी तथा सरोकारवालाहरु लगायत स्थानियहरुको बाक्लो उपस्थिति रहेको थियो। प्रतियोगितामा, फुटवल, भलिवल, एथलेटिक्स, मार्सल आर्ट (तेक्वान्दो, कराँते) लगायतका बिभिन्न खेलहरु सहभागी गराइएको छ । वडा नं ९ का वडा अध्यक्ष कृष्ण प्रसाद सुवेदीको स्वागत संगै सुरू भएकाे कार्यक्रमको संचालन भने राेजगार संयाेजक प्रेम नारायण रेग्मीले गरेका थिए। प्रत्येक खेल छात्रा र छात्र दुवै तर्फ संचालनमा रहेका छन । कार्यक्रमको अध्यक्षता भने नगर खेलकुद समिति चापाकाेटका अध्यक्ष मिलन राना ( पुरन) ले गरेका थिए।


उद्घाटन समारोहमा बोल्दै नगरप्रमुख खाँणले बालबालिकामा रहेको प्रतिभा र अदम्य साहसलाई उजागर गर्ने भएको हुँदा यस्ता खेलहरु हुनु आवश्यक रहेको बताए। खेलले आत्मनिर्भर, स्वावलम्बन र अनुशासनको विकासमा सहयोग पुर्याउने भएकोले प्रतियोगिताको आयोजना गरिएको नगरप्रमुख खाँणको भनाइ रहेको छ। उनले विद्यार्थीको अनुशासन तथा सर्वाङ्गिणी विकासको लागि खेलकुद अपरिहार्य रहेको बताए। खाँणले भने,’खेलकुदले अनुशासनमा बस्न सिकाउनुका साथै शत्रुतालाई मित्रतामा बदल्ने र वौद्धिक विकासमा टेवा पुर्याउँछ ।’ “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रको लागि खेलकुद” भन्ने मुल नाराका साथ चापाकोट नगरपालिकाले दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आयोजना गरेको हो। प्रतियोगिताका विजेता विद्यालयलाई रनिङ शिल्ड, ट्रफी,प्रमाणपत्र र मेडल प्रदान गरिनेछ । राष्ट्रपति रनिङ शिल्ड एक राष्ट्रिय स्तरको विद्यालयस्तरीय खेलकुद प्रतियोगिता हो । जसमा विभिन्न बिद्यालयका बिद्यार्थीहरुले आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर पाउँछन्।









































