गोरखा — क्याम्पस प्रमुखलाई हातपात र दुर्व्यवहारमा संलग्नलाई कारबाहीको माग गर्दै द्रव्य शाह बहुमुखी क्याम्पसमा शुक्रबार स्वतन्त्र विद्यार्थी युनियनले तालाबन्दी गरेको छ ।

जनयुद्धविरोधी फेसबुक ‘स्टाटस’ लेखेको भन्दै अनेरास्ववियु(क्रान्तिकारी) समर्थित विद्यार्थीले फागुन २ गते क्याम्पस प्रमुख रामचन्द्र दुवाडीलाई दुर्व्यवहार गरेका थिए । घटनामा संलग्न आरोपितलाई कानुनी दायरामा नल्याउन्जेलसम्मका लागि क्याम्पसको प्रशासनिक काम र पठनपाठनसमेत बन्द गरिएको स्ववियूले शुक्रबार विज्ञप्ति जारी गर्दै जनाएको छ ।
‘प्रहरीमा उजुरी गर्दासमेत झनै उक्त घटनालाई विभिन्न बहानाबाजीमा राजनीतिकरण गर्ने, गुपचुप राख्ने, आन्तरिक मेलमिलापको चेष्टा गरेकोप्रति घोर भर्त्सना गर्छौँ,’ विज्ञप्तिमा भनिएको छ ।
क्रान्तिकारीले भने सामान्य भनाभन भए पनि आफूहरूले क्याम्पस प्रमुखमाथि दुर्व्यवहार नगरेको दाबी गर्दै आएको छ ।









































