काठमाडौँ, मंगलबार, १८ जेठ २०७८ । नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान अन्तर्राष्ट्रिय शाखाले नेपालमा को’भिड दोस्रो लहरको असहज परिस्थितिमा राहत सङ्कलन गरेर वितरण गर्न थालेको छ ।
कांग्रेस केन्द्रीय कार्यालयमार्फत धनुषा, बाग्लुङ र डढेल्धुरामा सहयोग गर्ने निर्णय गरिएको छ । ती जिल्लामा गरिने सामग्री तथा सहयोग तथा संरचनाको छिट्टै जानकारी गराइने शाखाका जापान संयोजक डा बलराम श्रेष्ठले राससलाई जानकारी दिनुभयो ।
जापानबाट महेश श्रेष्ठले रु एक लाख, डा बलराम श्रेष्ठले रु ८० हजार, कृष्णप्रसाद भण्डारीेले रु १० हजार, भेषनारायण श्रेष्ठले रु १० हजार र शङ्करप्रसाद न्यौपानेले रु १० हजार गरी रु दुई लाख १० हजार पहिलो चरणमा ती जिल्लामा पठाइसकिएको छ ।
जापानबाट अरु करिब रु दुई लाख सहयोगको प्रतिबद्धता भएको छ । अन्य देशबाट रु १८ लाख जम्मा भएको उहाँले बताउनुभयो । हालसम्म अन्य देशबाट समेत गरी रु २१ लाखको सहयोग जुटाउन लागिएको छ । प्रत्येक जिल्लालाई रु सात लाखका दरले सहयोग दिने गरी काम भइरहेको शाखाले जनाएको छ । जम्मा भएको सहयोग रकम बैंकमार्फत् पठाइएको छ ।





































