युरोप, साईप्रस, दिनेश गौतम, शुक्रबार, २ असोज २०७७ । युरोपियन देश साईप्रसबाट बिहिवार थप ६३ जना नेपालीहरु स्वदेश फिर्ता भएका छन । साईप्रसमा विभिन्न पेशामा आएर कोरोना भाइरसका कारण अलपत्र परेर बसेकाहरुलाई नेपाली राजदुतावास ईजरायल, गैर आवासीय नेपाली सघं साईप्रस र होनरी नेपाली कन्सुलेट साईप्रसले यहाँको आईओ एम.सगंको विशेष सहकार्यमा नि:शुल्क स्वदेश फर्काइएको नेपाली राजदुतावास ईजरायलका प्रवक्ता अर्जुन घिमिरेले जानकारी दिनुभयो ।
प्रवक्ता घिमिरेका अनुसार साईप्रस देशबाट धेरै विद्यार्थीहरुको खाने, बस्ने समास्या, केही कामदारहरुको समास्या, कोरोनाले गर्दा झनै प्रभावित भएकाहरुलाई आईओएम साईप्रसको विशेष पहलमा स्वदेश फर्काइएको र अन्य नाम दर्ता भएकाहरुलाई समेत छिट्टै सोही प्रक्रियाबाट स्वदेश फर्काईने जानकारी दिनुभयो ।
साथै, कोरोना भाइरसका कारणले नेपाल पठाउन केही ढिलाइ भएको भन्दै साईप्रसबाट स्व. विवेक अमगाईँ र स्व. रेनुका कोइरालाको पार्थिव शरीर यही सेप्टेम्बर १८ मा नेपाल पठाउने तयारी भएको प्रवक्ता घिमिरेले बताउनु भयो । घिमिरेले भन्नुभयो, उहाँहरुका परिवार र आफन्तजनमा हार्दिक समवेदना व्यक्त गर्न चाहन्छौं । ईजरायलबाट नेपाल फर्कने क्रममा कोरोनाको पिसिआर परीक्षण रिपोर्ट नभएका कारण सेप्टेम्बर ९ देखि इस्तानबुलको एयरपोर्टमा अलपत्र पर्नुभएकी एक महिलालाई दुतावासले टर्कीका अधिकारीहरुसँग समन्वय गरी नेपाल फर्काउने प्रक्रियामा सहजीकरण गरेको समेत बताउनु भयो ।
त्यसैगरी, साईप्रस वा ईजरायल देशबाट जो कोही नेपाल पर्कान चाहेमा नेपाली राजदुतावास वा सम्बन्धित देशमा रहेका सघं-सस्थाका प्रतिनिधिहरुसगं सम्पर्क गरी राजदुतावासमा जानकारी गराउन घिमिरेले अनुरोध गर्नु भएको छ । यता साईप्रसबाट नेपालीहरुलाई स्वदेश फर्काउनका लागि गैर आवासीय नेपाली सघंका प्रमुख संरक्षक सुबास मल्ल, एन.आर.एन.ए साईप्रसका प्रतिनिधिहरु र नेपाली अवैतनिक वाणिज्यदूत डा. राम जीवन पन्जियारले विशेष पहल गर्नु भएको थियो ।





































