साउदी, मंगलबार, २३ भाद्र २०७७ । साउदी अरेबियाको रियादस्थित सेमास्को कम्पनी परिसरमा आइतबार नेपाली श्रमिकले नेपाल सरकारको विरोधमा नाराबाजी गरेका छन् । उनीहरुले विदेशबाटै प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘देश छोड्’ भन्दै गालीसमेत गरेका छन् ।
कम्पनीबाट काम गुमाएर नेपाल फर्किन विमान कुरिरहेका ती श्रमिक स्वदेश फर्किन नपाएपछि आफ्नै सरकारविरुद्ध आक्रोशित बनेका हुन् । उनीहरुले त्यहाँ नेपालका सडकमा हुने शैलीमै प्रदर्शन गरे ।
नेपाली कामदारले सुरुमा कम्पनीका अधिकारीसँग आफ्ना समस्या राखे । कम्पनीले नेपालकै दूतावासका कारण तत्काल श्रमिकलाई पठाउन नसकेको जानकारी दिएको छ ।
महिनौंदेखि विमान कुरिरहेका उनीहरु मंगलबार (आज) नेपाल उड्ने मिति तय भएको थियो । तत्कालै आफूहरु स्वदेश जान नपाउने अवस्था देखेपछि उनीहरु थप आक्रोशित हुन पुगे ।
त्यसपछि लाग्यो, ‘केपी .., देश छोड’ देखि ‘नेपाली दूतावास खारेज गर’ को नारा । उनीहरुले सरकार र दूतावासलाई नाराबाटै ‘मूर्दावाद’सम्म भने ।
उनीहरुले गरेको नाराबाजीको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ । कम्पनीमा महिनौंदेखि काम नपाएर अलपत्र परेका उनीहरुलाई नेपाल फर्किन पाउने आश्वासन पाएको करिब ७ महिना भयो ।
सरकारले अहिले केही गन्तव्यबाट सीमित मात्र नियमित उडान खोलेको छ । तर, कोरोना संक्रमण जाँच्न पीसीआर परीक्षण सहज नभएको भन्दै साउदीसहितका केही खाडी मुलुकमा चार्टर्ड उडान मात्रै गरिरहेको छ । तर, चार्टर्ड उडानको संख्या यति थोरै छ कि अलपत्र हजारौं नेपाली कहिले घर फर्किन पाउँछन् भन्ने टुंगो छैन ।
कतिपय कम्पनीले श्रमिकलाई नेपालबाट जाने चार्टर्ड उडानकै टिकट काटिदिएका छन् कतिपयले आफैंले चार्टर्ड उडान गर्न नेपालसँग अनुमति मागिरहेका छन् । कतिपय कम्पनीले श्रमिकलाई आफ्नै खर्चमा जान भनेका छन् । कति नेपाली श्रमिक टिकट खर्च नभएर अलपत्र छन् ।
नाराबाजी भएको साउदीको सेमास्को कम्पनीमा करिब १० हजार नेपाली काम गर्छन् भने त्यसमध्ये करिब ८ सय कामविहीन भएका छन् ।
अलपत्रमध्ये केहीलाई फर्काउने गरी कम्पनीले शुक्रबार सेप्टेम्बर ८ तारेख (आज) को उडानका लागि टिकट बापतको पैसा बैंकिङ च्यानलमार्फत नेपाल एयरलाइन्सको खातामा पठाउन खोजेको थियो ।
मंगलबारसम्म बैंकिङ च्यानलबाट सो रकम जम्मा हुन नसक्ने देखिएपछि दूतावासले कम्पनीलाई अरु विकल्पमा जान भनेको थियो । तर, झन्झट हुने भन्दै कम्पनी तयार भएन ।
र, कम्पनीले दूतावासका कारण नेपाली श्रमिक फर्काउन समस्या भएको ब्यहोराको सूचना टाँसिदियो । आफूहरु फर्किन तय भएको उडानमा जान नपाउने देखेपछि श्रमिकले धैर्यता गुमाउन पुगे ।
रोजगारी गुमाएपछि त्यहाँ कामदारहरु महामारीको बीचमा पनि कम्पनीले राखेको सिंगो हलमा कोचाकोच गरेर बस्न बाध्य छन् । कम्पनीले दूतावासलाई देखाउने र दूतावासले कम्पनीलाई देखाउने गर्दा आफूहरु घर फर्किनबाट बञ्चित भएकोमा उनीहरुको चित्त दुखाई छ ।
आफैंले खर्च गरेर फर्किने व्यवस्था गरिरिदन आग्रह गर्दासमेत बेवास्ता गरिएको प्रदर्शनमा सहभागी एक श्रमिकले बताए ।
साउदीस्थित नेपाली दूतावासका राजदूत महेन्द्रप्रसाद सिंह राजपुत यो समस्या समाधान भइसकेको दावी गर्छन् । सेप्टेम्बर ८ तारिक (आज)मा उड्न नपाएकाहरुलाई १८ तारेखको उडानमा नेपाल पठाउने उनले बताए ।
‘फर्किन तयार भएको दिनमा उड्न नपाइने भनेपछि युवाहरु आक्रोशमा आउनु स्वाभाविक थियो, यसमा कुनै राजनीतिक उद्देश्य थिएन, अलिकति कम्पनीले पनि बदमासी गर्यो,’ राजदूत राजपुतले भने,‘एयरलाइन्सको पैसा जम्मा गर्न मनी ट्रान्सफर गर्दा समस्या हुने कुरा नखुलाई सूचना टाँस्दा दूतावासप्रति रिस पोखियो ।’
साउदीमा अझै १२ हजारभन्दा बढी श्रमिक फर्किनका लागि विमान कुरिरहेका छन् । तर, त्यहाँबाट श्रमिकलाई फर्किन सहज अवस्था देखिएको छैन ।
सरकारले साउदीमा पीसीआर परीक्षण गर्न सम्भव नभएको कारण देखाएर नियमित उडान पनि खोलेको छैन । चार्टर्ड उडानको संख्या पनि पातलो छ । जसले गर्दा साउदीमा अलपत्र नेपालीहरु अब स्वतःस्फुर्त रुपमा आन्दोलित हुन थालेका छन् ।
राजदूत राजपुत भने फर्किन चाहनेको संख्या धेरै भएको र उडान सीमित रहेका कारण असन्तुष्टि देखिने गरेको बताउँछन् ।
तर, यस्ता विषयमा साउदी सरकारका अधिकारीहरुले पनि चासो देखाएको र नेपाली श्रमिकलाई समस्या पर्न नदिन दूतावासले सबै प्रकारका उपाय अबलम्बन गरेको राजपुतको दावी छ । अनलाइन खबरबाट





































