काठमाडौँ, आइतबार, ११ साउन २०७७ । थाइल्याण्डका राजा महा बजिरलंकनले नेपाली भिक्षुलाई देशको चौथो पद प्रदान गरी सम्मान गरेका छन् । नेपाली बौद्ध भिक्षु सुगन्ध महास्थवीरलाई राजाले देव पदबाट सम्मान गरेका हुन् ।
थाइल्यान्डमा बौद्ध भिक्षु परम्पराअनुसार देव पद चौथो वरीयताको पद हो । विश्व बौद्ध जगतमा सम्मानित मानिएको यो पद पाउने महास्थवीर पहिलो नेपाली हुन् ।
थाइल्यान्डमा उनलाई अनिल शाक्यको नामले चिनिन्छ । उनी चार दशकदेखि थाइल्यान्डमा बस्दै आएका छन् । थाई भिक्षु परम्परामा संघराजाको पदपछि सोमडेट र ब्रह्म आउँछ । त्यसपछि चौथो पद देव हो ।
थाइल्यान्डमा बौद्ध धर्ममाथि योगदान पुर्याएको सम्मान स्वरूप राजाले उनलाई यो पद दिएका हुन् । भिक्षु महास्थवीर थाइल्यान्डको प्रसिद्ध महामुकुट बौद्ध विश्वविद्यालयका डेपुटी रेक्टरसमेत हुन् ।





































