काठमाडाै, शुक्रबार, ५ असार २०७७ । युएईबाट १ सय ४८ जना नेपाली नागरिक लिएर नेपाल एयरलाइन्स आज (शुक्रबार) फर्किएको छ ।
कोभिड–१९ का कारण समस्यामा परेका नेपालीहरुलाई नेपाल एयरलाइन्सको २२९३ विमानमार्फत नेपाल पठाइएको हो । नेपाल एयरलाइन्सले युएईबाट पहिलो उडान गरेको हो ।
युएईको स्थानीय समयअनुसार शुक्रबार बिहान ४ बजे उडान भएको छ । असार २ गते हुने भनिएको उडान स्थगित भएपछि सोही उडान तालिकामा रहेकाहरुलाई आज नेपाल पठाइएको हो ।
फर्कनेहरुमा अधिकांश महिला छन् । सो विमानमा एक जना नेपालीको शवसमेत रहेको स्राेतले बताए ।
स्वदेश फर्किएकाहरुमा आबुधाबीबाट ४२ जना छन् । युएईका विभिन्न राज्यमा रहेका नेपालीहरुलाई सम्बन्धित एयरलाइन्सले विमानस्थलसम्म ल्याइदिएका थिए । नेपाल फर्किएकाहरुले नेपाल सरकारले तोकेको १३ सय २० दिरामका (करिव ४० हजार रुपैयाँ) को दरले टिकट काटेका छन् ।
नेपाल फर्कन चाहनेहरुका लागि आह्वान गरेको फारममा आफ्नो विवरण उल्लेख गरेकाहरुलाई प्राथमिकताका आधारमा नेपाल फर्काइएको नेपाली दूतावास आबुधाबीले जनाएको छ । सोहीअुनसार पहिलो उडानमा अधिकांश गर्भवती महिलाहरु परेका छन् ।





































