काठमाडौं, १० जेठ २०७७ । कतारमा रहेका नेपाली श्रमिकका लागि कतारी सरकारले खाद्यान्न उपलब्ध गराएको छ । कोरोना संक्रमणमा परेर रोजगारी गुमाएका श्रमिकको सहयोगार्थ कतारी सरकारले एक लाख ३४ हजार डलर (करीब रु एक करोड ६० लाख) बराबरको खाद्यान्न सहयोग उपलब्ध गराएको एनआरएनले जनाएको छ ।
गैर आवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष कुमार पन्तका अनुसार उक्त खाद्यान्न सरकारले संस्थाको कतार शाखालाई हस्तान्तरण गरेको छ । प्राप्त सहयोग एनआरएनए कतारको सक्रियतामा नेपाली श्रमिकलाई वितरण भइरहेको पन्तले जानकारी दिनुभयो ।
एनआरएनका सचिव आरके शर्माका अनुसार कतारी सरकारले त्यहाँस्थित एक च्यारिटी संस्थामार्फत सात हजार पोका खाद्यान्न संघलाई दिएको हो । कतारमा करिब ३ लाख ५० हजार नेपाली रहेको अनुमान छ ।
कतार सरकारको जनस्वास्थ्य मन्त्रालयले बिहीबार प्रकाशन गरेको सूचनामा पछिल्लो २४ घण्टामा पाँच हजार ४५ जनामा जाँच गर्दा थप एक हजार ५ सय ५४ जनामा कोरोना संक्रमण भेटिएको जनाइएको संस्थाको कतार शाखाका अध्यक्ष मोहम्मद मुक्तदाले बताउनु भयो । तीमध्ये छ सय ८८ जना निको भएको र एक जनाको मृत्यु भएको स्वास्थ मन्त्रालयले जनाएको मुक्तदाले जानकारी दिनुभयो ।





































