बेलायत, २५ माघ २०७६ । बेलायतस्थित नेपाली दूतावासको पहल र स्थानीय काउन्सिलसंगको सहकार्यमा गोरखा नगरपालिकाका मेयर राजनराज पन्त र रश्मोर काउन्सिलका मेयर सु कार्टरले गत बिहीबार रश्मोर काउन्सिल भवनमा सम्झौतापत्रमा हस्ताक्षर गर्नु भएको छ ।
बेलायतमा सबैभन्दा धेरै नेपालीहरुको बसोवास रहेको रश्मोर बरो काउन्सिल र गोरखा नगरपालिकाबीचमा भगिनी सम्बन्ध स्थापना भएको छ ।
उक्त सम्झौतापत्रमा सांस्कृतिक, प्रजातान्त्रिक, प्राविधिक र शैक्षिक अवसरहरु एकअर्काबीच आदानप्रदान गर्ने सहमति भएको छ ।
त्यसैगरी, दुवै निकायबीचमा भ्रमण, सामाजिक आर्थिक विकासमा हातेमालो, संयुक्त अनुसन्धान, विभिन्न परियोजना सञ्चालन, भौतिक पूर्वाधार निर्माण र सुशासनमा समेत सहयोग गर्दै अघि बढ्ने उल्लेख गरिएको छ ।
मेयर राजन राज पन्तका साथमा नेपालबाट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णकुमारी श्रेष्ठ र नेपाल पत्रकार महासंघ गोरखाका अध्यक्ष किशोरजंग थापा भगिनी सम्बन्ध स्थापना कार्यक्रममा सहभागी हुन गत बुधबार बेलायतको रश्मोर पुग्नु भएको थियो ।
त्यसैगरी, रश्मोर बरो काउन्सिल र गोरखा नगरपालिकाबीच भगिनी सम्बन्ध स्थापित भएको अवसरमा शुक्रबार सांझ लन्डनस्थित नेपाली दूतावासले एक विशेष कार्यक्रम गरेको छ ।

कार्यक्रममा बेलायतका लागि नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदीले अतिथीहरुको स्वागत गर्दै ऐतिहासिक भगिनी सम्बन्धले दुई देशका जनताबीचको घनिष्ट सम्बन्ध हुने विश्वास व्यक्त गरेका छन् । बेलायत नेपाल सम्बन्ध अभिवृद्धि संगै ‘भ्रमण वर्ष २०२०’ अभियानमा नेपालको पर्यटन प्रवर्धनमा टेवा पुग्ने समेत राजदूत डा सुवेदीले विश्वास ब्यक्त गर्नुभयो ।
सो अवसरमा गोरखा नगरपालिकाका मेयर राजनराज पन्तले गोर्खाहरुका कारण बेलायत नेपाल सम्बन्ध प्रगाढ र आत्मीय बनेको आडमा रश्मोरसंग भगिनी सम्बन्ध गांस्न पाएकामा कृतज्ञता व्यक्त गर्नुभयो ।
मेयर पन्तले ‘गोरखा जाऔं’ अभियानबारे जानकारी दिंदै ऐतिहासिक, सांस्कृतिक धरोहर र सम्पदा भएको ऐतिहासिक जिल्ला गोर्खामा स्वागत गर्ने अवसर प्रदान गरिदिन बेलायतवासी नेपाली र बेलायती समक्ष अपिल गर्नुभयो ।
गोरखा नगरपालिकाकाको मेरो नेतृत्वमा कार्यकारी अधिकृत कृष्णकुमारी श्रेष्ठ र किशोर जङ्ग थापा पूर्वनिर्धारित कार्यक्रम भाग लिन बेलायत आएका हौं। कार्यक्रम सफलता पुर्बक सम्म्पन्न पनि भएको छ ।
अधिकृत श्रेष्ठ हिजै नेपाल फर्किसक्नुभयो। हामी गोर्खाली र नेपाली हरुको आयोजनामा भैरहेको कार्यक्रमहरुमा सहभागी भैरहेका छौ । अझै केहि दिन गोर्खालिको आयोजनामा हुने कार्यक्रम मा सहभागी हुने छौ ।
सबै नियमित कार्यक्रम सकेर हामी स्वदेश फर्कने मिति पनि पूर्ववत जानकारीमै छ । बेलायत बसाइको हरेक दिन गोर्खा नगरपालिकाको समग्र बिकाशको बारेमा कुनै न कुनै समुदाय सङग छलफल भैरहेको छ ।
यसै सन्दर्भमा ‘भगिनी सम्बन्ध गाँस्न बेलायत पुगेका गोरखाका मेयर पन्त हराए’ शीर्षक मा आफूखुसी, मनगणन्ते, हामीसँग कुनै भेरिफाइ नै नगरी एकतर्फी र स्रोतसमेत उल्लेख नगरिएका समाचार प्रकाशित भएको देख्दा टिठ लागेको छ ।
सम्मन गर्ने भनिएको त्यो कार्यक्रम को आधिकारिक निमन्त्रणा पनि प्राप्त नभएको तर अकस्मात अनुपस्थित भएको भन्ने हल्ला गरेर भ्रम फैलाएको मा मलाइ दुख लगेको छ । यस्ता हल्ला र समाचारको भ्रममा नपर्न गोरखा नगरपालिकाका मेयर राजनराज पन्तले सबैमा अनुरोध गर्नु भएको छ ।





































