जापान, २३ माघ २०७६ । गैर आवासीय नेपाली संघ (एनआरएनए) ले कोरोना भाइरसको सङ्क्रमणबाट सुरक्षित रहनका लागि सतर्कता अपनाउन आह्वान गरेको छ ।
केही समययता चीनको उहान क्षेत्रबाट फैलिएको नोभेल कोरोना भाइरसको सङ्क्रमणले अहिले अन्तर्राष्ट्रिय स्वास्थ्य आपतको स्थिति खडा गरिसकेको छ । यस भाइरसको सङ्क्रमणबाट चीनलगायत विभिन्न मुलुकमा मृत्यु हुनेको सङ्ख्या झण्डै ६ सय पुगिसकेको र ३० हजारभन्दा बढी व्यक्ति सङ्क्रमित भइसकेका छन् । यसले विश्वव्यापी महामारीको रूप लिनसक्ने शङ्का उत्पन्न भइरहेको अवस्थामा एनआरएनएले यस्तो आह्वान गरेको हो ।
एनआरएनएले यस भाइरसको सङ्क्रमणका कारणले मृत्यु भएका व्यक्तिहरूको आत्माको चिर शान्तिको साथै सङ्क्रमितको शीघ्र स्वास्थ्य लाभको लागि कामना गरेको छ । साथै, विज्ञप्ति मार्फत यस प्रकोपबाट प्रभावित सबैमा सहानुभूति प्रकट गरेको छ ।
‘यस प्रकोपका कारणले चीनको उहान प्रान्तमा रहेका नेपालीहरूको उद्धारको चुनौती आएको छ । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् चीन उहानमा रहेका १ सय ४० भन्दा बढी नेपालीसँग सम्पर्कमा रहेको र उनीहरुलाई नेपाली दूतावास बेइजिङसँगको समन्वयमा नेपाल फिर्ता गर्ने सम्बन्धमा सक्रिय रूपमा कार्य गरिरहेको छ,’ एनआरएनएद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

संघको स्वास्थ्यसम्बन्धी समितिले यस कोरोना भाइरसको बारेमा गैरआवासीय नेपालीहरूमाझ जानकारी फैलाउन सक्रिय रहेको जनाएको छ । ‘यस प्रकोपबाट नेपालको पर्यटनलगायत अर्थतन्त्र प्रभावित हुन थालिसकेको छ। नेपालजस्तो कम साधन स्रोत सम्पन्न मुलुकलाई यसले चुनौती थपिदिएको छ,’ संघको भनाइ छ, ‘यस्तो अन्तर्राष्ट्रिय विपतको स्थिति कुनै एक मुलुकले मात्र सामना गर्न नसक्ने र यसका लागि सबै राष्ट्र र सम्पूर्ण मानव जाति ऐक्यबद्ध भई लाग्नुपर्छ ।’
अन्तर्राट्रिय रूपमा समन्वयका साथ अघि बढ्न एनआरएनएले नेपाल सरकार र विश्व समुदायसँग अपिलसमेत गरेको छ ।





































