टोकियो, २० माघ २०७६ । नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन जापानमा पनि सक्दो प्रचारप्रसार र प्रवर्द्धन गर्ने उद्देश्यले जापानस्थित नेपाली राजदूतावासले आइतवार टोकियोमा एक प्रवर्द्धनात्मक कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा जापानका लागि नेपाली राजदूत प्रतिभा राणाले नेपाल सरकारले यो वर्षलाई नेपाल भ्रमण वर्षको रुपमा मनाउने र २० लाख पर्यटक भित्र्याउने अभियानलाई सबै नेपालीहरुले साथ-सहयोग र टेवा पुर्याउन अपिल गर्नुभयो ।
विदेशमा बस्ने सबै नेपाली अवैधानिक दूत भएकोले जापानबाट पनि सक्दो पर्यटक पठाउन सबैले आ-आफ्नो तर्फबाट पहल र भूमिका निर्बाह गर्न राजदूत राणाले जापानबासी नेपालीहरुलाई आग्रह गर्नुभयो ।

अघिल्लो वर्षको अक्टोबरमा मात्र नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारीको जापान भ्रमण, त्यसअघि दुई देशबीच भएका मन्त्रीस्तरिय भ्रमण लगायतका कारण नेपाल जापानबीचको सम्बन्धमा थपिएका नयाँ आयाम, नेपाल-जापानबीच कायम भएको सिधा हवाईसम्पर्क, जापानमा हुन गईरहेको ओलम्पिक जस्ता परिवर्तित नयाँ परिस्थितिका कारण जापानीहरु नेपालप्रति थप परिचित भएको सन्दर्भमा उनीहरुलाई नेपाल घुम्न जाने वातावरण बनाउन जापानस्थित सबै संघसंस्थाहरुसंग सहकार्य गर्दै नेपाली राजदूतावासले वर्षभरिनै जापानका विभिन्न सहरमा प्रवर्द्धनात्मक कार्यक्रमहरु गरिने राजदूत राणाले बताउनुभयो ।
एनआरएन जापानको सहकार्य र राजदूताबासको आयोजनामा राजदूत निवासमा भएको सो कार्यक्रममा नेपाल भ्रमण वर्षका प्रवर्द्धनात्मक सामग्रीहरु वितरण गरिएको थियो । कार्यक्रममा भिजिट नेपाल अंकित टिसर्ट, गलबन्दी, नेपालका पर्यटकीय स्थलका जानकारीमुलक पोष्टर, पर्चा, गाइडबुक लगायत सामग्रीहरु वितरण गरिएको थियो ।
कार्यक्रममा बोल्दै एनआरएन जापानका अध्यक्ष देवीलाल भण्डारीले भ्रमण वर्षलाई सफल बनाउनका लागि सहयोग गर्नु हरेक नेपालीको कर्त्तब्य भएको बताउनुभयो ।
राजदूतावासका उपनियोग प्रमुख कृष्णचन्द्र अर्यालले भ्रमण वर्षको जापानभरिनै प्रचारप्रसार गर्ने कार्यमा जापानमा रोजगार, ब्यवसाय, अध्ययन, अनुसन्धान लगायतका विभिन्न क्षेत्रमा संलग्न नेपालीहरुको भूमिका महत्वपूर्ण हुने विचार ब्यक्त गर्नुभयो ।
राजदूत निवासमा भएको औपचारिक समारोह पश्चात टोकियोको शिबुयामा र्याली गरी नेपाल भ्रमण वर्षको प्रचारप्रसार र प्रबर्द्धन गरिएको थियो । नेपालको राष्ट्रिय झण्डा, नेपाल भ्रमण वर्ष-२०२० लेखिएको ब्यानर, प्ले कार्ड बोकेका नेपाली पोशाक तथा भिजिट नेपाल अंकित टिसर्ट लगाएका नेपालीहरुले नगरपरिक्रमा गरेका थिए । र्यालीमा राजदूत राणालगायत राजदूतावासमा कार्यरत कर्मचारी, एनआरएन जापानका पदाधिकारी, ब्यवसायी, विद्यार्थी तथा मिडियाकर्मीहरुको सहभागिता रहेको थियो ।





































