काठमाडौँ, ५ असार २०७६ । नेपाली काँग्रेसका पूर्व सभापति एवं पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको नाममास्थापित ‘गिरीजाप्रसाद कोइराला फाउण्डेशन’को शाखा मकाउमा विस्तार भएको छ ।
पूर्व सभापति एवं पूर्व प्रधानमन्त्रीकोइरालाको निधनपछि प्रजातन्त्र, शान्ति र समृद्ध नेपाल बनाउने लक्ष्यका साथ स्थापना भएको प्रतिष्ठानले स्वदेश तथा विदेशमा आफ्नो शाखा विस्तार गरेको हो ।
मकाउमा रहेका नेपालीहरुको आयोजनामा बुधबार एक भव्य कार्यक्रमका बीच काँग्रेस नेत्री एवं पूर्व उपप्रधानमन्त्री सुजाता कोइरालाले फाउण्डेशन मकाउ शाखाको शुभारम्भ गर्नुभयो ।
उहाँले स्वदेशमा सबै प्रदेश र जिल्लामा तथा विदेशी विभिन्न मुलुकमा शाखा विस्तार गर्ने उदेश्यका साथ मकाउ शाखाको स्थापना गरिएको जानकारी दिनुभयो ।
यसअघि फाउण्डेशनको नेपालका सातै प्रदेश र विभिन्न जिल्ला तथा अमेरिका, क्यानडा र विभिन्न युरोपेली देशमा आफ्नो शाखा विस्तार गरिसकेको छ । गिरीजाबाबुले शान्ति र प्रजातन्त्र स्थापनाका लागि गरेको कामलाई स्वदेश तथा विदेशमा लैजानका लागि प्रतिष्ठानले काम गरेको अध्यक्ष कोइरालाले बताउनुभयो ।
सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष मनाउन लागिरहेको अवस्थामा फाउण्डेशनको यस्ता कार्यक्रमले पर्यटन क्षेत्रको विकासमा सहयोग पुग्ने अध्यक्ष कोइरालाको भनाई थियो ।
फाउण्डेशन मकाउका संयोजक सुदर्शन थापाले फाउण्डेशन मकाउ शाखाले मुलुकको हितका लागि विभिन्न कार्यक्रम गर्ने जानकारी दिनुभयो । “जंगलमा रहेको माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन गिरिजाबाबुले खेल्नुभएको योगदान अतुलनीय छ,”–उहाँले भन्नुभयो ।
कार्यक्रममा नेपाली जनसम्पर्क समिति मकाउका उपाध्यक्ष एवं काँग्रेस महाधिवेशन प्रतिनिधी चण्डि योँगा, गैरआवासीय नेपाली संघ मकाउकी अध्यक्ष शान्ति अधिकारीलगायतको सहभागीता रहेको थियो ।